Breaking

ओलीको दुई तिहाइमाथि प्रचण्डको टक्कर, रवि–बालेन बोक्न


एमाले–कांग्रेस मिलनले प्रतिपक्षमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियता चुलिदो छ । पार्टी सत्ता केन्द्रित हुँदा टुटेको जनमत फर्काउनका लागि जनतामा फर्किने उद्घोष गरेका उनी पछिल्लो समय आफूलाई शक्तिमा राखेर सरकारलाई दबाब बढाउने रणनीतिमा देखिन्छन् । फलतः छायाँ सरकारको सक्रिय अभ्यासमा देखिएका उनी के कस्तो अस्त्र चाल्दै छन् त ?

एमाले काँग्रेसको अप्रत्याशित मिलनले विपक्षमा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियता ह्वात्तै बढेको छ । यसैको एक उदाहरण उनी अहिले बाढीपहिरो र डुबानपीडित नागरिकको क्षेत्रमा पुगेर आश्वासनसमेत बाँडिरहेका छन् । मंगलबार मात्र काठमाडौंका बल्खुमा पुगेर स्वयमसेवकहरुको परिचालन गरेका तथा पीडितको साथमा आफू सधैं रहने प्रतिबद्धता जनाएका उनी त्यसपछिका दिनमा पीडित भेट्ने काममै व्यस्त छन् ।

गत शुक्रबार र शनिबारको भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देश अस्तव्यस्त भएका बेला उनी सरकारभन्दा अघि नै देखिए । प्रधानमन्त्री केपी शर्मा ओली विदेश सयरमा रहेको तथा कार्यबाहक सरकार अलमलमा परिरहेको बेला उनले सर्वदलीय बैठक नै आह्वान गरे ।

फलतः यसले दवाव सिर्जना गर्दा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारका तर्फबाट सर्वदलीय बैठक बोलाउन बाध्य भएभने सरकारलेनै बैठक बोलाएपछि प्रचण्डले आफ्नो बैठक स्थगित गरे । यतिमात्र नभइ उनले आफ्ना सांसद माधव सापकोटालाई बेलायतको भ्रमण स्थगित गरेर सिन्धुपाल्चोक खटाए । सापकोटा वर्षासँगै आएको बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा खटिँदा एमाले प्रमुख सचेतक महेश बर्तौला र सचिव योगेश भट्टराईसहित दलका नेताहरु एक सातादेखि बेलायत सयरमा छन् ।

त्यस्तै माओवादीले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क नै राख्ने निर्णयसमेत ग¥यो । बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पंक्तिलाई राहत र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउनेलगायतका निर्णय पनि बैठकले गर्दा नख्खुमा बगेकालाई उद्धार गरेका चणिकलाल तामाङलाई प्रचण्डले सम्मान गरे । अर्थात जहाँ जहाँ सरकार चुक्यो त्यही आफू सक्रिय भएर जनताको अघि उपस्थिति देखाउने काम गरेका प्रचण्ड बाढीपीडितको घरदैलोमै पुगे । यसैबीच उनले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । राजमार्गमा पुगेको क्षतिले दशँै मनाउन जानेहरु समस्यामा परेको र सरकारले प्रभावकारी कदम चाल्न नसकेको आक्षेपकाबीच उनले त्यसमा समेत नागरिकको समस्याप्रति आफू सचेत रहेको संकेत दिन भ्याएका हुन् ।

यतिमात्र होइन प्रचण्ड यसअघिबाटै अब नागरिकमा जानै पर्ने बुझाईमा पुगिसकेका थिए । केही समय पार्टीभित्रै घेराबन्दीमा परेका उनी सामाजिक सन्जालदेखि सहयोगी शक्ति प्रयोगसम्ममा लाग्दै आएका छन् । यहि कारण आत्मविश्वासी देखिएका उनले आफू प्रधानमन्त्री भन्दा माथिको व्यक्तित्व भएको दाबी नै गरे । उनले उचाल्न सकिने मुद्धाहरुलाई समेत प्रयोग गरिरहेका छन् । यही विपदमा पनि कार्यवाहक सरकार चुक्दा त्यसको भार काँग्रेसले बोक्नुपर्नेमा प्रचण्ड काँग्रेससँगै नरम छन् भने सरकार पूर्ण रुपमा विफल भएको निष्कर्ष निकालेका छन् ।

त्यस्तै पहिचानवादी, राजावादीदेखि पछिल्लो समय युवामाझ लोकप्रिय व्यक्तित्वलाई बोक्ने रणनीतिमा उनी देखिन्छन् । यहि कारण एमालेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई प्रचण्डले बोकेको भन्दै लगाएको आरोपमासमेत फाइदा देखेका उनी रास्वपासँग त उपसभामुखदेखि रवि लामिछानेमाथि कारबाही गर्ने सरकारको प्रयासविरुद्ध एक ठाँउमा देखिए । त्यस्तै समाजवादी मोर्चालाई सक्रिय पार्नेदेखि सरकारका कमीकमजोरीलाई जनताले देख्ने गरि दृश्यमा ल्याइदिने रणनीतिमा उनी देखिएका छन् । जसले ओली सरकारको भने टाउको दुखाई भएको छ ।

हुन त प्रतिपक्षमा रहेको पार्टीले शक्ति आर्जन गर्न खोज्नु नौलो विषय होइन । त्यसमा एमाले काँग्रेसको भाषामा लगभग विघटनको बाटोमा रहेको माओवादी त झन गर या मरकै अवस्थामा छ । यसको अर्थ प्रचण्डसँग उपलब्ध रणनीतिको उच्चतम प्रयोगको विकल्प नरहँदा आफ्नै दुई तिहाइ भारी परिरहेको सरकार उनका लागि अवसर बन्दै छ । जसलाई छायाँ सरकारको कसरतभन्दा माथि पुर्याएर दायित्व बोधको भाष्य निर्माण गर्नु उनको अर्को चतु¥याई हो भनेबाध्यताबस बनेको यो गठबन्धन तर्सिनुमा संयोगमात्र मान्न सकिने अवस्था देखिँदैन ।