अन्तर्राष्ट्रिय

हिजबुल्लाहका नयाँ नेता मारिए ? लेबनानमाथि झनै आक्रामक इजरायल


अहिले मध्यपूर्वमा इजरायल र लेबनान् स्थित हिजबुल्लाह समूहबीच भीषण लडाईं भइरहेको छ । दुई पक्षबीचको युद्धले मध्यपूर्वको आकाश थप धुमिल हुन पुगेको छ । यो युद्धमा हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफिद्दिनसमेत मारिएका छन् ।

मध्यपूर्वको आकाशमा यतिबेला युद्धको कालो बादल मडारिएको छ । अक्टोबर ७ मा हमासबाट सल्केको युद्ध अहिले लेबनान् स्थित हिजबुल्लाह समूहसम्म सल्केको छ । जारी लडाईंले मध्यपूर्व थप संकटमा पर्ने निश्चित जस्तै छ । हमास समूहलाई निमिट्यान्न पारेर हिजबुल्लातर्फ इजरायलले युद्ध केन्द्रित गरेको छ । पछिल्लो एक हप्तामा हिजबुल्लाहविरूद्ध इजरायल आक्रामक भएपछि संकटग्रस्त लेबनानका नागरिक पीडामा परेका छन् ।

साथै देश छाडेर छिमेकी मुलुक सिरियामा शरण लिनेहरुको संख्या ह्वात्तै बढेको छ । इजरायलको आक्रमणमा हिजबुल्लाहका नयाँ नेता हाशिम सफिद्दिनसमेत मारिएका छन् । इजरायली सेनाले बिहीबार बेरुतमा सफिद्दिनलाई निशाना बनाएर आक्रमण गरेको थियो । इजरायली सेनाले भूमिगत बंकरमाथि हवाई आक्रमण गरेको थियो । जहाँ हिजबुल्लाहका शीर्ष अधिकारीहरूले बैठकको आयोजना गरेका थिए ।

सफिद्दिन बैठकमा सहभागी हुन जाँदै गरेका बेला इजरायली आक्रमणमा परेका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाह दुवैले सफिद्दिनको मृत्युबारे कुनै जानकारी दिएका छैनन् । गत हप्ता नसरल्लाह मारिएपछि सफिद्दिनलाई उनको उत्तराधिकारी मानिएको थियो । सफिद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्ने गरेका थिए ।

त्यसैले नसरल्लाहले जस्तै कालो पगरी लगाउने गरेका थिए । सन् २०१७ मा अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो । उनले हिजबुल्लाहको राजनीतिक मामिला हेर्दै आएका थिए । यसबाहेक उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन् ।
यता इजरायली सेना मंगलबार लेबनान प्रवेश गरेलगत्तै इरानले इजरायलमा एक सय ८० भन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इरानको आक्रमणपछि इजरायलले कडा जवाफ दिने चेतावनी दिएकाले युद्ध चर्कने त्रास बढेको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पनि इजरायलले पौंठेजोरी खेले अझै शक्तिशाली मिसाइल प्रहार गर्ने धम्की दिएका छन् । इजरायलमाथि यसअघि सामान्य मिसाइल प्रहार गरेको र अब प्रहार गर्नु परे भयानक हुने उनले चेतावनी दिएका हुन् । उनले हमास र हिजबुल्लाहलाई इजरायलसँग लड्ने कानुनी अधिकार रहेकोसमेत बताएका छन् ।

‘प्रत्येक व्यक्तिलाई आक्रमणकारीविरुद्ध लड्ने अनि आफ्नो भूमि, घर, देश र हितको रक्षा गर्ने अधिकार हुन्छ,’ उनले भनेका छन् । साथै उनले अफगानिस्तानदेखि यमन, इरान, गाजा र लेबनानसम्म सबै इस्लामी देशमा रक्षाका लागि एक हुनुपर्ने आह्वान गरेका छन् ।

यता इजरायली सेनाले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका बासिन्दाहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ । इजरायल डिफेन्स फोर्सका प्रवक्ताले तिनीहरूलाई “तुरुन्तै“ आफ्नो घर छोड्न र “अवली नदीको उत्तरतिर जान“ भनेका छन् । यसले पनि लेबनान्मा थप त्रास फैलिएको छ ।

युद्धको कालो बादल मडारिएसँगै अन्तर्राष्ट्रिय बजारमा खनिज तेल लगायत इन्धनको मूल्य बढेको छ । इन्धनको मूल्य वृद्धि भएसँगै अन्य अत्यावश्यक सामग्रीको मूल्य पनि आकाशिने अनुमान हुन थालेको छ । अरब मुलुकका बलिया शक्ति राष्ट्रहरुबीच बढ्दो तनावले विश्व शान्तिमासमेत असर पर्न सक्ने भन्दै विश्वव्यापी चिन्ता प्रकट हुन थालेको छ ।