Uncategorized

दसैं यात्राको तनाव, नबन्ने भयो राजमार्ग, हवाई यात्रामा घुइँचो


नेपालीहरुको महान चाड दसैं सुरु भइसकेको छ । बडादसैं मनाउन बसेर्नि लाखौँ सर्वसाधरण काठडमाडौंमबाट गृह जिल्ला फर्किने गर्दछन् । तर दसैंको मुखमा आएको बाढीपहिरोले सडकमार्ग अवरुद्ध हुँदा हवाई यातायातमा यात्रुको चाप बढेको छ । विमानस्थलमा देखिएको यात्रुले भिड र आन्तरिक हवाई उडानले समेत यसलाई पुष्टि गर्छ ।

विगतमा थोत्रो जहाज चढाएकै कारण हवाई दुर्घटनामा सर्वसाधरणले ज्यान गुमाउनु परेको भन्दै उफ्रिनेहरु नै अहिले त्यही हवाई जहाजको टिकट लिन तछाडमछाड गरिरहेका छन् । यही मौकामा हवाई टिकट दोब्बरभन्दा बढी महँगिँदा पनि यात्रुको चाप बढेका बढ्यै छ । महंगो जहाजको यात्रा गर्न पनि टिकट नपाएर अधिकांश तनावमा छन् । रहरले नभई बाध्यताले यात्रुहरु हवाई यात्राको विकल्प रोजिरहेका छन् । अविरल वर्षासँगै आएको बाढी पहिरोले सडकमार्ग अवरुछ हुँदा हवाई सेवा यात्रुको विकल्प बनेको हो ।

हवाई यात्रुको चाप बढेपछि असोज १७ गते घटस्थापनादेखि असोज ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन गर्ने तय भइसकेको छ । सामान्यतः दैनिक ३ सयको हाराहारीमा उडान हुने आन्तरिक हवाई उडानमा रेकर्ड ब्रेक भइरहेको छ । व्यवस्थापन र संरचनाका हिसाबले सधैँ लथालिङग त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल अहिले यात्रुको चाप र फितलो व्यवस्थापनका कारण बसपार्कको झल्को दिने खालको भएको छ ।

एकाएक बढेको यात्रुको चाप, थप गरिएको समय र उडान अवतरण संख्या बढ्दा उडान व्यवस्थापनमा धौधौ पर्न थालिसकेको छ । उडान संख्या र समय थपिए पनि जहाजको संख्या उही छ । पाइलटको संख्या र दोब्बर भनिएका जनशक्ति कति दक्ष छन् त ? यहाँ प्रश्न पेचिलो बन्ने देखिन्छ । यसमा सरकार र सरोकारवाला निकाय सचेत र संवेदनशील हुनैपर्छ ।
यता बाढी पहिरोको वितण्डले बेहाल बनेका राजमार्गहरु विस्तारै तङ्ग्रिदै छन् । हालसम्म २९ वटा राजमार्गहरु काम चलाउ रुपमा सञ्चालनमा आइसकेका छन् ।

तर काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य सडक तथा राजमार्गहरु अझै अलपत्र अवस्थामा छन् । पाँच वटा मुख्य राजमार्गमा अझै पनि यातायात सञ्चालन हुन सकेको छैन । अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै यातायात सञ्चालन हुन सकेको छैन ।

दसैंका लागि पोकोपन्तुरा बोकेर परिवारसँग रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु बीच बाटोमै अलपत्र पर्ने अवस्था छ । कतिबेला घर पुग्ने हो ठेगान छैन । मुख्य राजमार्ग खुल्ने अनिश्चित भएसँगै यातायात व्यवसायीहरुले वैकल्पिक सडकको प्रयोग गरी यात्रुलाई गन्तव्यमा पु¥याउन थालेका छन् ।

असोज ११ गतेदेखि नै काठमाडौंको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा पुग्न सकेका छैनन् । सडकमा खसेको पहिरो हटाउँदै सवारी साधन कछुवाको गतिमा चल्न थालेपछि असोज १४ गते दिउँसोदेखि रात्रिकालीन सवारी साधन काठमाडौंबाट छुटाउन थालिएको थियो । सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै सवारीसाधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्ने सहमति भएको छ । अस्थायी डाइभर्सन निर्माण वा अन्य विकल्पहरु अपनाएर यातायात सञ्चालन गर्ने सरकारको तयारी छ ।

दसैं तिहारमा हरेक वर्ष १८÷१९ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने गरेको प्रहरीको तथ्यांक छ । यस वर्ष पनि सोही हाराहारी संख्यामा उपत्यकाबाट बाहिरिने हुँदा बाढीपहिरोले अवरुद्ध सडकका कारण यात्रु मारमा पर्ने निश्चित छ । यद्यपि, वैकल्पिक सडकमार्गको प्रयोगले त्यसलाई कम गरे पनि कष्टकर यात्रा गर्न यात्रु बाध्य हुने देखिन्छ । सडक मार्गको विकल्पमा हवाई यातायात रोज्नेहरु महँगो टिकटको मारमा परिरहेका छन् ।

जसले हवाई उडानमा समेत चाप बढेको छ भने अवतरण लगत्तै अर्को उडान भर्नु पर्ने बाध्यताले हवाई जहाजको प्राविधिक जाँचमा समस्या भइरहेको र प्राविधिक जाँचकै कारण हवाई उडान डिले हुने गरेको गुनासो आइरहेको छ । यस्तो अवस्थामा यात्रुको सुरक्षित यात्राका लागि सरकार र सरोकारवाला निकायले समेत संवेदनशिलता देखाउन झनै जरुरी छ । विपदको घडीमा चाडबाड मान्न पुख्र्यौली थलो फर्किंदै गर्दा दसैं कसैका लागि दशा नबनोस् । बेलैमा सबै निकाय सचेत बनोस् ।।