Breaking

ओली–देउवालाई टक्कर दिने प्रचण्डको सक्रियता


असोज ११ र १२ गते लगातार वर्षासँगै आएको बाढी पहिरोले मुलुक यतिबेला विपद्को पीडामा छ । मौसम पूर्वानुमान अनुसार वर्षाको सम्भावना कायमै रहेकाले विपद्को संकट अझै टरेको छैन । ठूला चाडपर्वको मुखैमा सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् । विपदबाट बाँचेकाहरुको जीवनसमेत दर्दनाक छ ।

बाढी पहिरो गएको हप्ता दिन पुग्दा पनि नागरिकले भने देशमा सरकार भएको अनुभूति गर्न पाएका छैनन् । यस्तो अवस्थामा प्रतिपक्षी दलका नेता तथा सांसद पीडित नागरिकको घरदैलोमा पुग्दा सरकारका मन्त्रीहरु भने सिंहदबार परिसरबाट बाहिर निस्कन सकेका छैनन् । उद्धारमा चुकेको सरकारले नागरिकलाई सहानुभूतिसमेत बाँड्ने सकेको छैन ।

गत वर्ष प्रधानमन्त्री हुँदा भूकम्प पीडितलाई भेट्न बझाङ पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालै आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडितको समस्या बुझ्ने र भेटघाट गरिरहेका छन् । यस्तै, काठमाडौं उपत्यकाको नदी किनारा छेउछाउका सुकुम्बासी बस्तीमा सहयोग र सहानुुभूति दिन पुगेका प्रचण्ड उपत्यका बाहिर पनि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगिरहेका छन् । अस्पताल–अस्पताल पुगेर घाइतेहरुको अवस्था बुझेका छन् ।

मंगलबार गम्बुट लगाएर काठमाडौंको बल्खु क्षेत्रका बस्ती अवलोकन गरेका अध्यक्ष प्रचण्डले नख्खु, भक्तपुर र ललितपुर हुँदै बिहीबार काभ्रेका विभिन्न स्थानको स्थलगत निरीक्षण गर्न भ्याए । साथै उनले धुलिखेल अस्पताल पुगेर घाइतेहरुको अवस्था बुझ्ने काम गरे । विपदमा परेका नागरिकको समस्या बुझ्न जिल्ला जिल्ला पुगिरहेका माओवादी अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत, घाइतेको निःशुल्क उपचार, पीडितलाई पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

अध्यक्ष प्रचण्ड मात्र नभई प्रतिपक्ष कित्तामा पुगेपछि फुर्सदिला माओवादीका सांसद एवं नेताहरुसमेत आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग साक्षात्कार गरिरहेका छन् । त्यसो त सत्ताबाट बाहिरिएपछि फुर्सदिला बनेका प्रचण्डले सरकारको कमजोरी पहिल्याउँदै विपद्मा काउन्टर दिन कत्ति पनि मौका गुम्न दिएनन् । देश विपद्को संकटमा परिरहेको अवस्थामा सरकार मौन बसेको देखेपछि उनले सर्वदलीय बैठक आह्वान गरेर सरकारलाई काउन्टर नै दिन खोजे । विपदका बेला प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले उनले देखाएको सक्रियताको प्रसंशासमेत भयो । असोज १३ गते बिहान १० बजेका लागि उनले बैठक बोलाएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सोही दिन दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए ।

सरकारले बैठक बोलाएपछि प्रचण्डले आफूले बोलाएको सर्वदलीय बैठक स्थगित गरिएको थियो । एउटै विषय र एजेन्डामा दुई वटा बैठक आवश्यक नभएको भन्दै प्रचण्डले बोलाएको सर्वदलीय बैठक रोकिएको माओवादी नेताहरु बताउँछन् । यद्यपि, विपदमा प्रचण्डले देखाएको सक्रियताले भने सरकारमाथि दह्रै काउन्टर दिएको छ । सांसद माधव सापकोटा आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा पुगेर राहत उद्धारदेखि अवरुद्ध बाटो खुलाउन सक्रिय रुपमा खटिएका छन् । बेलायतको भ्रमण नै रद्ध गरेर उनी उद्धारमा खटिएका हुन् । अर्का सांसद लेखनाथ दाहाल ‘राजन’ सिन्धुली पुगेर उद्धार तथा राहत व्यवस्थापनमा सक्रिय छन् । अन्य राजनीतिक दलका सांसदहरु पनि आफ्नो नागरिकको उद्धार र राहत व्यवस्थापनमा लागेका छन् । रास्वपाका सांसद डाक्टर तोसिमा कार्की आफैँ फिल्डमा खटिएकी छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वयम् काठमाडौँमा उद्धारको कार्यमा ढिलाई भएको देखेपछि आफ्नो जिल्लाका सर्वसाधरणको उद्धार गर्न हेलिकप्टरसहित सिन्धुपाल्चोक पुगे ।

संकट र विपत्तिमै जनताले आफ्नो क्षेत्रका जनप्रतिनिधि र राजनीतिक दलको आशा गर्छन् । यस्ता विपत्तिमै जनताले नेता तथा जनप्रतिधिहरुको परीक्षण गर्ने हुँदा यो बेला उनीहरु सक्रिय हुने झनै अपरिहार्य हुन्छ । केही जनप्रतिनिधि र नेताहरुले जनतासँगको परीक्षामा खरो उत्रिने प्रयास गरे पनि केन्द्र सरकार र कतिपय स्थानीय सरकार भने चुक्न पुगेका छन् । जसले गर्दा अहिले उनीहरु आलोचित छन् । यो परीक्षाको घडीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पनि चुकेका छन् । काठमाडौँका सुकुम्बासी बस्तीका बाढी पीडितहरूले महानगरपालिकाका मेयर शाहले आफूहरुलाई बेवास्ता गरेको भन्दै आलोचना गरिरहेका छन् ।

विपदको घडीमा केन्द्र सरकार सिंहदरबारको कोठे बैठकभन्दा बाहिर निस्किन सकेन । बाढी पहिरोको विपदले नागरिक छट्पटाइ रहँदा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा मस्त थिए । उनी स्वदेश फर्किने साइत कुरेर बस्दा यता बाढी पहिरोले वितन्डा मच्चाइसकेको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार स्वदेश फर्किएका प्रधानमन्त्रीसमेत कोठे बैठक र निर्देशनमै रमाइरहेका छन् ।

अन्य समयमा स्थलगत निरीक्षण र अवलोकनमा भ्याई नभ्याई हुने उनका मन्त्रीहरुले सायद पानीले रुझ्ने पिर र हिलो लाग्ने डरले मन्त्री क्वाटरभन्दा बाहिर पाइला राख्नै हिच्किचाए । प्रधानमन्त्रीकै सिको गर्दै आफू मातहतका निकायलाई निर्देशन दिनु नै उनीहरुको दैनिकी बनेको छ । कतिपय क्षेत्रमा नेताहरु लखेटिएका बेला चौतर्फी आलोचित सरकार जनताको पीडा बुझ्न प्रभावित क्षेत्रमा जानै डरायो । जनताबाटै लखेटिने डरले हो वा दृढ इच्छा शक्तिको कमीले, जनतामा जान नसक्नु सरकारको निकम्मापन विपदको घडीमा उदेक लाग्दो देखिएको छ । जसको जति आलोचना गरे पनि कमी हुने भन्दै जनआक्रोश बढी रहेको छ ।