Breaking

सरकारकै कारण ठेकेदारको बिल्लीबाठ, उठेन पैसा, दसैंको मुखमा मजदुरले तलब पाएनन्


काठमाडौँ – निर्माण व्यवसायीहरुलाई सरकारले करिब ४५ अर्ब रकम भुक्तानी गर्नु पर्नेछ । भुक्तानी माग्नका लागि निर्माण व्यवसायीहरु विभिन्न निकायहरु धाईरहेका छन् । उनीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानीका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत ध्यानाकर्षण गराउँदै आएको छ । तर सरकार भने निर्माण व्यवसायीहरुको भुक्तानी निरन्तर भइरहेको बताएको छ । सरकारले करिब २० अर्ब बढी रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गरिसकेको र बाँकी रकम दशैँअघि दिने कोशिस भइरहेको बताउँदै आएको छ ।

तर निर्माण व्यवसायीहरु नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार समस्या समाधान गर्न नसकेको भन्दै गुनासो गरिरहेका छन् । सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वासन दिएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको छ ।

विगतमा दशैँअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिने गरेको थियो । तर यो वर्ष भुक्तानी नदिँदा निर्माण व्यवसायीहरुसँग जोडिएका प्राविधिकदेखि मजदुरहरुलाई तलव दिनसक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । साथै चाडपर्वको मुखमै विपद्जन्य घटनाका कारण परिस्थिति सहज बनिरहेको छैन । १५ हजार सक्रिय निर्माण व्यवसायी, २० हजार प्राविधिक र लाखौं मजदुरलाई निर्माण व्यवसायीहरुले दशैँका लागि तलब दिनसक्ने अवस्था नभएको निर्माण व्यवसायीहरुले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भए पनि अहिलेसम्म भुक्तानी नपाएको बताए । उनले शिथिल अवस्थामा रहेको निर्माण क्षेत्र पछिल्लो बाढी पहिरोको कारण थप मारमा परेको उल्लेख गरे । उनले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिँदा मजदुरहरुले रमाइलोसँग दशैं मनाउन नपाउने अवस्था सिर्जना हुन लागेको गुनासो गरे ।।

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राम्जी पन्तले नारायणी नदी व्यवस्थापनको काम गरेको अघिल्लो आर्थिक वर्षको ३० करोड बढी भुक्तानी आउन बाँकी रहेको बताए । उनले अहिलेसम्म एक रुपैयाँ पनि बजेट नभएकाले भुक्तानी पाउन नसकेको बताए । पछिल्लो समय ८९ प्रतिशत निर्माण व्यवसायीहरु सडकमा आएको उनको भनाइ छ । निर्माण व्यवसायीहरुको सरकारले समयमा भुक्तानी गर्न नसक्दा व्यवसायीहरुले प्राविधिक, मजदुर र बैंकको किस्ता समेत तिर्न नसकेको उनले बताए । उनले बैंकहरुबाट थप ऋण लिएर मजदुर प्राविधिकलाई तलव दिने सोचिरहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीहरुसँग हजारौं मजदुर र उनीहरुका परिवार आश्रित रहेको बताए ।

निर्माण व्यवसायी प्रमोद लामिछानेले पनि सरकारले निर्माण व्यवसायीहरुको समयमा भुक्तानी दिन नसक्दा व्यवसायी मात्रै नभएर निर्माणसँग जोडिएका सप्लायर्सदेखि मजदुरसम्म प्रभावित भएको बताए । उनले गत वर्षदेखि सरकार र मन्त्रीहरुले भुक्तानी दिने आश्वसन दिएको तर काम नगर्ने अवस्था रहेको बताए ।

वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले सरकारले पूर्णरुपमा निर्माण व्यवासायीको भुक्तानी दिन नसक्दा मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । दशैंअघि पूर्ण रुपमा भुक्तानी पाउने आशा व्यवसायीहरुमा मरेर गएको उनको भनाइ छ ।

दशैंअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिए लाखौं मजदुर प्राविधिले तलव पाउने अवस्था नभएको उनीहरुको भनाइ छ । दशैँअघि भुक्तानीको व्यवस्था गरी निर्माण मजदुरले खुशीका साथ दशैँ मान्ने वातावरण बनाउन निर्माण व्यवसायीहरुको माग छ ।