अन्तर्राष्ट्रिय

इरान–इजरायल युद्धमा, कसका सेनासँग कस्ता छन् क्षमता ?


लामो समयदेखि चर्किएको युद्धले अहिले मध्यपूर्वमा व्यापक तनाव उत्पन्न भएको छ । इजरायल र हमास, लेबनान हुँदै इरानसमेत युद्धमा होमिएपछि मध्यपूर्वले थप युद्धको संकट झेल्नु परेको हो । इरानसमेत इजरायलविरुद्ध युद्धको मैदानमा उत्रिएपछि इरान–इजरायल कसको शक्ति कति ? भन्ने प्रश्न उठ्न थालेको छ ।

इरानले इजरायलमा एकैपटक १ सय ८१ भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देश युद्धतर्फ उन्मुख भएका छन् । अहिले धेरैलाई चासो छ कि इरान र इजरायलमध्ये को शक्तिशाली ? कसको सेना शक्तिशाली ?, उनीहरूसँग के के हतियार छन् त ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले धेरै स्रोतहरुलाई उल्लेख गर्दै इरान र इजरायलबीचको सैन्य क्षमतामा को बलियो छ भनेर अनुसन्धान गर्ने प्रयास गरेका छन् ।

यद्यपि, यी देशहरूले आफ्ना केही सैन्य क्षमता र शक्तिलाई गोप्य राखेका छन् । आईआईएसएसका अनुसार सन् २०२२ र २०२३ मा इरानको प्रतिरक्षा बजेट ७.४ अर्ब डलर थियो भने इजरायलको त्यसको दोबरभन्दा बढी अर्थात् १९ अर्ब डलर थियो । इजरायलको जीडीपी अर्थात् कुल गार्हस्थ्य उत्पादनसँगको तुलनामा उसको रक्षा खर्च पनि इरानको भन्दा दोबर छ । यद्यपि विश्व सैन्य शक्तिमा १ सय ४५ देशको सूचीमा इरान १४औँ स्थानमा छ भने इजरायल १७औँ स्थानमा छ । तुलना नै गर्दा इजरायलभन्दा इरान केही बलियो छ ।

युद्ध हुँदा महत्वपूर्ण शक्ति वायु सेना हुन्छ । इरानको एयरफोर्स उसको सबैभन्दा ठूलो कमजोरी मानिन्छ । इजरायलसँग सक्रिय फाइटर एयरक्राफ्टको संख्या ६ सय १२ छ भने इरानसँग ५ सय ५१ छ । इजरायलसँग १ सय ४६ वटा हेलिकप्टर छन् भने इरानसँग १ सय २९ वटा छन् । आक्रमण गर्ने हेलिकोप्टर इरानसँग १३ र इजरायलसँग ४८ वटा छन् । ट्यांक इरानसँग १ हजार ९ सय ९६ र इजरायलसँग १ हजार ३ सय ७० वटा छन् ।

इजरायल र इरानबीच युद्ध भयो भने छिट्टै परमाणु हतियार प्रयोगसम्म पुग्न सक्छ । इरानले बाहिर–बाहिर भन्ने गरेको छ, ‘हामीसँग परमाणु हतियार छैन ।’ तर, यो कुरा धेरैलाई पत्यार लाग्दैन । अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदनदेखि विभिन्न अध्ययनले इरानसँग परमाणु हतियार रहेको दाबी छ । इरानले चाहेको अवस्थामा न्युक्लियर वारहेड्स प्रयोग गर्न सक्छ । यसरी हेर्दा इजरायलभन्दा इरान बलियो देखिन्छ । २०÷३० वर्षअघिसम्म साइबर क्षमतामा इरानभन्दा इजरायल धेरै अगाडि थियो । तर, रुस र चीनसँगको सहकार्यमा इरानले यो मामिलामा आफूलाई धेरै बलियो पारिसकेको छ । हालै सार्वजनिक राष्ट्रिय साइबर शक्ति सूचकांकमा इरान १०औँ तथा इजरायल १९औँ स्थानमा छ । ट्याङ्क र सशस्त्र बाहनको संख्यामा पनि इरान इजरायलभन्दा अगाडि छ । सहयोगी देशको हिसाबले चीन, रुस र ५७ वटा मुस्लिम देशहरु इरानको पक्षमा छन् । अमेरिका, बेलायत लगायत पश्चिमा देशहरु इजरायलको पक्षमा छन् । यो पनि चुनौतीको विषय हो । अन्ततः दुई देशबीचको युद्ध र त्यसको परिणाम प्रक्षेपण गर्न सजिलो पक्कै छैन ।

जित्छ भनेर ठोकुवा गरिएकाहरू पुच्छर लुकाएर भागेका र हार्छ भनेर होच्याइएकाहरूले विजयी झण्डा गाडेका घटना इतिहासमा छन् । सन् १९७० मा भियतनामविरुद्ध अमेरिकी सेनाले त्यत्रो संघर्ष गर्ला र अन्तिममा अपमानित भएर भियतनाम छोड्ला भनेर कसैले सोचेका थिएनन् । रुसविरुद्ध युक्रेनले दुई वर्षसम्म भिड्न सक्छ भन्ने अनुमान सायदै कसैले गरेका थिए । फिनल्यान्ड–रसिया, भियतनाम–चीन युद्धको इतिहासले पनि जुन कुनै देशको शैन्य क्षमतामाथि आकलन गर्नुभन्दा अगाडि गम्भीर भएर सोच्नु पर्ने अवस्था छ ।