अन्तर्राष्ट्रिय

मध्यपूर्वमा युद्ध : चीन र अमेरिका आमनेसामने, इजरायलमाथि इरानको क्षेप्यास्त्र वर्षा, सेना मैदानमा


काठमाडौँ— इजरायल र हमास, लेबनान हुँदै इरानसमेत युद्धमा होमिएपछि मध्यपूर्व थप युद्धग्रस्त बनेको छ । मंगलबारदेखि इरानलेसमेत इजरायलमाथि आक्रमण थालेको छ । मध्यपूर्वको तनावमा अमेरिका–चीन आमनेसामने हुने खतरा मात्र बढेको छैन कि शक्ति राष्ट्रको स्वार्थमा मध्यपूर्व झनै भयावह हुने त होइन भन्ने चिन्तासमेत सुरु भएको छ ।
हमास र हिजबुल्लाहसँग युद्ध लडिरहेको इजरायलमाथि इरानलेसमेत आक्रमण थालेको छ । मंगलबार राति १ सय ८० मिसाइल प्रहार गर्दै आक्रमण सुरु गरेको इरानले इजरायलमाथिको आक्रमणलाई निरन्तरता दिएको छ । इरानले आक्रमण गरेका अधिकांश मिसाइलहरु इजरायलले खसाएको थियो भने केही मात्र विष्फोट भएको जनाएको छ । क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन । यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पस (आईआरजीसी) ले ९० प्रतिशत क्षेप्यास्त्रले आफ्नो लक्ष्यअनुसार नै प्रहार गर्न सफल भएको दाबी गरेको छ । बुधबार दिउँसोसम्म दुई भन्दा बढी मिसाइल प्रहार गरेको इरानको दाबी छ । इरानको आक्रमण लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले यो आक्रमणको मूल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएका छन् ।

इरान–इजरायल द्वन्द्वको कारण
गत वर्ष अक्टोबर ७ मा इजरायलमा एकाएक हमास समूहले आक्रमण ग¥यो । प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हमास र इजरायल युद्ध अझै रोकिएको छैन । इजरायलको कारबाहीमा अहिलेसम्म ४१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने लाखौँ घाइते भएका छन् । गाजाबाट पलायन हुनेको संख्या लाखौँ पुगिसकेको छ । हमास इजरायल युद्ध चलिरहँदा हमासको समर्थनमा लेबनानमा रहेको लडाकु समूह हिजबुल्लाहले पटक पटक इजरायलमाथि आक्रमण ग¥यो । यता हमाससँगको युद्ध कम हुँदै गएपछि इजरायलको निसाना हिजबुल्लाहतर्फ सोझियो । इजरायलले सेप्टेम्बर १७ मा हिजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोट गराएपछि इजरायल– हिजबुल्लाह युद्ध थप चर्कियो । इजरायलले लेबनानमा घातक मिसाइल आक्रमण र बमबारी मच्चाउँदा हिजबुल्लाहका वरिष्ठ नेता हसन नसरल्लाहसहित धेरै नेताहरु मारिए ।

सर्वसाधारण कति हताहत भए यकिन तथ्याङ्क छैन । हजार भन्दा बढीको मृत्यु भएको छ भने लाखौँ घाइते भएका छन् । इजरायलले अहिले लेबनानको भूमिसमेत कब्जा गर्न सुरु गरिसकेको छ । हमास समूहको प्रमुख स्माइल हानिया हुँदै हिजबुल्लाहका वरिष्ठ नेता नसरल्लाह मारिए । हिजबुल्लाहका धेरै नेताहरु मारिएपछि इरानले इजरायलमाथि आक्रमण थालेको छ । कारण लेबनानस्थित सिया मुस्लिम संगठन हिजबुल्लाह लेबनानको राजनीतिक पार्टी तथा अर्धसैनिक समूहको जन्मदाता नै इरान हो । सन् १९८० को दशकमा इजरायलविरुद्ध प्रयोग गर्न इरानको आर्थिक र सैन्य सहायताबाट हिजबुल्लाहको उदय भएको थियो । हसनको मृत्युले इरानमा हल्लीखल्ली मच्चिएको थियो

संयुक्त राष्ट्रसंघको महासभामा इजरायलका प्रधानमन्त्रीले सम्बोधन गर्नासाथ इरानसहित धेरै मुलुकले कुटनीतिक विरोध जनाएका थिए । न्यूर्योकबाट फर्किए लगत्तै प्रधानमन्त्री नेतान्याहुले इरानी नेताहरुविरुद्ध जनता भड्काउने खालका अभिव्यक्तिसमेत दिएका थिए । हमास र लेबनानको समर्थन गरेकोमा चिन्ता व्यक्त गरेका थिए । त्यसको भोलिपल्ट नै इरानले इजरायलमाथि आक्रमण गरेको हो । इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई जोगाउन अमेरिकी सेनालाई आदेश दिई सकेका छन् । इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न बाइडेनले अमेरिकी सेनालाई आदेश दिएका हुन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी ह्वाइट हाउसले गरिरहेको उल्लेख गरेका छन् । यता चीनले भने इजरायली कदमको खण्डन गर्न थालेको छ । इजरायलले लेबनानमा जारी राखेको स्थल आक्रमण ‘लेबनानको सार्वभौम सत्ताको उल्लंघन भएको भन्दै विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लेबनानमा बढ्दो तनावप्रति बेइजिङ चिन्तित’ रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय समुदायले युद्ध अन्त्य गर्न पटक पटक दवाव दिइरहे पनि इजरायल तत्काल युद्ध रोक्ने पक्षमा देखिँदैन । तत्काल मध्यपूर्वको युद्ध रोकिने संकेत देखिएको छैन । यसले समग्र विश्वलाई नै युद्धको चपेटामा धकेल्ने सम्भावना बढ्दै गएको विश्लेषण हुन थालेको छ ।