राजनीति

कांग्रेसको विकल्प खोज्दै ओली ! प्रकाशमान र लेखकले झस्काए, आरजुको सन्देश निर्णायक


काठमाडौँ— सरकार बनेको दिनदेखि नै आलोचना गर्न थालेको कांग्रेसकै, सरकार विरोधी स्वर चर्किन थालेको छ । त्यसमाथि एकपछि अर्को मनलाग्दी र अपरिपक्व निर्णयले प्रधानमन्त्री केपी शर्मा ओली पनि दवावमा रहँदा कांग्रेस–एमाले दूरी बढाउने थप अवयवहरु थपिन थालेका छन् ।

पछिल्ला केही घटनाक्रमले संविधान संशोधन र ०८४ सम्मै सहकार्य गर्ने कांग्रेस एमालेको बाचामा खटपट देखिन थालिएको छ । सरकारको बढ्दो आलोचना, जनआकांक्षा सम्बोधन र विपद् प्रतिकार्यमा असफल सरकारका मानकहरुकै कारण कांग्रेस चिढिएको देखिन्छ । हुन त दुई ठूला दल मिले समृद्धिको बाढी आउने अपेक्षा गरेको कांग्रेसको इतर पक्ष नै अहिले त्यो भ्रमबाट मुक्त हुँदा उसैले विरोधका स्वर तीव्र बनाएको छ । कांग्रेस एमाले खटपटमा केही विशिष्ट कारणहरु समेत देखिएका छन् ।
देश विपद्को चपेटामा परेका बेला कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा कांग्रेसका प्रकाशमान सिंह थिए । आपतकालीन अवस्थामा कार्यवाहक प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक बोलाउन सक्ने अधिकार प्रयोग गर्ने तयारीमा थिए । तर, अमेरिकाबाट ओलीले नै रोकेपछि बैठक रोकिएको चर्चा छ । हुन त विषम् परिस्थितिमा ओलीको आदेशविपरीत गएर प्रकाशमानले समेत आफ्नो अधिकार प्रयोग गर्न सक्ने विकल्प थियो । तर, उनले त्यो गर्न सकेनन् । फलतः ओली अमेरिकाबाट आएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो । यसले पनि कांग्रेस ओलीप्रति चिढिएको देखिन्छ ।
अर्कोतर्फ मन्त्रीदेखि प्रधानमन्त्रीसम्मकै अभिव्यक्तिमा लगाम लगाउनु पर्ने कांग्रेस महामन्त्री गगन थापाले पटक–पटक भन्ने गरेका छन् । फलतः ओलीलाई समेत बोलीमा लगाम लगाउन महामन्त्री थापाले आग्रह गरे । पछिल्लो समय गगन सरकारको काम कारबाहीको खुलेरै आलोचना गर्नेमध्येका एक सत्तारुढ नेता हुन् । एकातिर एमाले आफैँ कांग्रेसका मन्त्रीले गरेका गलत कामको भार ओलीले नलिने बताइरहँदा ओलीको मनलाग्दी कतिञ्जेल बोक्ने भन्नेमा कांग्रेसको हैरानी देखिन्छ ।

कांग्रेसकै शेखर कोइराला पक्षको अर्कै चाला छ । कोशीमा नयाँ सरकार बनेको डेढ महिनापछि कांग्रेसले भदौ २८ गते मन्त्री पठाए पनि शेखर पक्षबाट मन्त्रीको नाम पठाइएको छैन । छठपछि यो सरकार ढल्ने र छोटो समयका लागि मन्त्री पठाउन उचित नहुने बुझेका शेखरले आफ्नो पक्षबाट मन्त्री नपठाएको चर्चा छ । यसअघि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन पनि शेखर पक्षले नै विद्रोह गर्दा केन्द्रको समीकरण विपरीत एमालेसँग मिलेको थियो । अर्कोतर्फ अमेरिकाबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री ओलीको महत्वपूर्ण भेट भएको छ । राष्ट्रपति नै हुँदा समेत नेकपाको एकता कायम राख्न होस् वा कांग्रेस–एमाले समीकरण लामो समयसम्म लैजाने बिषयमा उनको सदासयता रहेको पाइन्छ । दुवै छिमेकी राष्ट्रको विश्वास स्थिर नरहेका समय उपप्रधानमन्त्री विष्णु पौडेलको चीन भ्रमण र यही समयमा कम्युुनिस्ट शक्ति एक भएको सुखद् समाचार चाँडै सुन्न पाइने माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको आत्मविश्वाले पनि कांग्रेस–एमालेको दूरीमा मिटर थप्ने काम गरिरहेको देखिन्छ । यी यावत घटनाक्रमहरुले पनि दुई तिहाई वा संख्याको शक्तिले मात्रै स्थिरता दिन नसक्ने कुरालाई पुर्नपुष्टि गरिरहेको निष्कर्षमा जानकारहरु पनि पुगेका छन् ।

हुन त संयुक्त राष्ट्रसंघको महासभाका क्रममा केही कुटनीति भेटवार्ता भएका छन् । ओलीले भारत र अमेरिकाको सन्देश लिएर फर्किए पनि कांग्रेसका लागि भारतको सन्देश लिएर परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा फर्किन बाँकी नै छ । सरकारको आलोचनामा प्रतिपक्षी रास्वपासहित सत्तापक्षका नेताहरु नै सक्रिय रहँदा केही समय अघिसम्म आक्रोशित मुद्रामा रहेको माओवादीको ओलीसँग पछिल्लो हिमचिम र सत्ताप्रति प्रचण्डको भलाद्मीपनले पनि शंशय थपेको छ ।