राजनीति

ओलीको क्रेज ह्वात्तै घट्यो, ‘आई लभ यू’ भन्नेहरु बेपत्ता, बालेनसँगको भिडन्त भारी


काठमाडौँ— प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोध र विवादको केन्द्रमा छन् । राष्ट्रवादी नेताको छवी बनाउँदै राष्ट्रिय राजनीतिमा राजनेताको हैसियत बनाएका ‘बा’ ब्राण्डको विरासत स्थापित गरेका ओली पछिल्लो समय आलोचित र अलोकप्रिय किन बन्दैछन् त ।
धेरै टाढा जानै पर्दैन प्रधानमन्त्री हुनु पूर्वसम्म प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनप्रिय नै थिए । ओलीको एक झलक दर्शन र बोली सुन्नकै लागि सर्वसाधरण सार्वजनिक कार्यक्रममा पुग्थे । ओलीको भाषणमा मिसिने उखानटुक्का र व्यंग्यात्मक शैलीले गलल हाँसोको फोहोरा छुट्थ्यो । वाहवाही र तालीको वर्षा नहुने कुरै भएन । ‘केपी बा आई लभ यू’ , ‘वी लभ यू केपी बा’, ‘केपी ओली हाईहाई’ । नेकपा एमालेका नेता कार्यकर्तामाझ मात्र नभई आम सर्वसाधरणका साथै विशेषतः युवापुस्तामा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीको बडो क्रेज थियो ।

बिडम्बना अहिले परिस्थिति ठ्याक्कै उल्टिएको छ । प्रधानमन्त्री बनेको दुई महिना बित्दा नबित्दै ओलीको साख शून्यमा झरेको छ । चर्चा र पपुलरिजमका पारखी प्रधानमन्त्री ओलीले पछिल्लो समय लोकप्रियता गुमाउँदै गएको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री ओलीको लोकप्रियता र अलोकप्रियता मापन गर्ने ग्राफ नै त छैन तर यी दुई वटा घटनाले ओलीको लोकप्रियता कति खस्कदो छ, अनुमान सहजै लगाउन सकिन्छ । स्वदेशमा सडकमै लखेटाईमा परेका ओली विदेशी भूमिमा पुग्दा सार्वजनिक कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्थामा पुगे । पहिलो दृश्य गत भदौ १० गते गौरा पर्वको अवसरमा संघीय राजधानी काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी नै भयो ।

नाराबाजी गर्ने युवाहरु पक्राउ परेकै कारण सरकारले चौतर्फी आलोचना खेप्न बाध्य भयो । नदी किनारामा थप २० मिटर जग्गा छाड्नु पर्ने विवाददेखि सामान्य विषयमासमेत आफ्नो हैसियत बिर्सिएर काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग वाकयुद्धमा उत्रिएका प्रधानमन्त्री ओली थप विरोधको घेराबन्दीमा परे । इन्द्रजात्रामा बालेनको फोटो अंकित टी–सर्ट लगाएका सर्वसाधरणलाई नियन्त्रणमा लिएपछि असोज तीन गते संविधान दिवसका अवसरमा दरबार मार्गमा आयोजित कार्यक्रममासमेत ओलीविरुद्ध युवाहरुको समूहले नाराबाजी गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते अमेरिका पुगेका प्रधानमन्त्री ओली असोज ५ गते न्यूयोर्कस्थित नेपाली समुदायले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने तयारी भएको थियो । तर प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वागतका लागि आयोजना गरिएको सो कार्यक्रममा कालो झण्डा र जुत्ताको माला लगाउनेसम्मको तयारी भएको हल्लापछि ओलीले कार्यक्रम नै रद्द गर्नु परेको थियो । अर्को महासभामा सम्बोधनका क्रममा माइक नै काटिएको विषयदेखि अन्तरक्रियाहरुमा अंग्रेजीमा चिप्लिएको विषयलेसमेत प्रधानमन्त्री ओली आलोचनाको सिकार बने । असोज १० गते नै राष्ट्रसंघको महासभामा सम्बोधन भ्याईसकेका प्रधानमन्त्री ओली असोज ११ गते देशमा बाढी पहिरोले वितण्ड मच्चाउँदा अमेरिकामा अन्तरक्रियामा व्यस्त भएपछि थप घेरिए । चौतर्फी आलोचनाकाबीच असोज १४ गते काठमाडौं ओर्लिएका प्रधानमन्त्रीले विमानस्थलमा सञ्चारकर्मीहरुले सोधका प्रश्नमा लाज पचाएर उल्टै जंगिएपछि उनी झनै आक्रमणमा परे ।

प्रधानमन्त्री ओली अहिले प्रतिपक्षी मात्र नभइ सत्तापक्षकै घेराबन्दीमा परेका छन् । बाढी पहिरोको विपत्तिमा सरकारको भूमिकालाई लिएर प्रतिपक्षले प्रश्न उठाइहेका बेला सत्तारुढ दलका सांसदहरु नै उनको आलोचना गरे ।

विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, व्यवसाय केही नुछुट्याई मर्का पार्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नु पर्ने औँलयाएका छन् । विपत्तिमा प्रधानमन्त्री गम्भीर नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री ओलीले विरोधका नाममा विरोध नगर्नसमेत आग्रह गर्न भ्याए ।

प्रधानमन्त्रीको कार्यसम्पादन, अभिव्यक्ति र व्यवहारका सम्बन्धमा सामाजिक सञ्जाल, मिडिया, सडकबाट व्यक्त भएका असन्तुष्टि र विरोधका आधारमा चौथो पटक प्रधानमन्त्री भएका ओलीको लोकप्रियता घट्दै गएको विश्लेषकको तर्क छ ।
सुशासनको सेवा प्रवाहदेखि जनजीविकाका सवालमा दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकार लाचार देखिएको छ । यी सबै सवालमा जवाफदेहिताका लागि सिंगो संयन्त्र उत्तिकै जिम्मेवार हुनु पर्ने हो । अनि मात्रै नागरिकले सरकार भएको अनुभति गर्न पाउँछन् । तर प्रधानमन्त्रीको घट्दो लोकप्रियतासँगै देशमा सुशासनको नारासमेत संकटमा परेको देखिन्छ । यसले प्रधानमन्त्री पद र पात्र बढी आलोचित बनिरहेको छ ।