देश

दसैंमा व्यापार सुक्यो, ठूल्ठूला मल पनि खाली, बाटोमै अड्किए कन्टेनर, ग्राहक आउने म¥यो आश


काठमाडौँ— दसैं तिहार लगायत ठूला चाडपर्व सुरु भइसकेको छ । चाडबाड नजिकिएसँगै बजारमा कालोबजारी र महंगी बढ्ने सम्भावना धेरै हुन्छ । त्यसमा पनि हालै आएको बाढी पहिरोका कारण सर्वसाधारण नागरिक महँगीको चपेटामा परेका छन् भने व्यापार व्यवसायमा पनि मन्दी छाएको छ ।


काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा गणेशप्रसाद दुवाडीको कपडा पसल छ । दसैँ तिहार, छठ जस्ता ठूला चाडपर्व सुरु हुँदैगर्दा व्यापारीहरु उत्साहित नहुने कुरै भएन । तर दुवाडीसहित अधिकांश व्यापारीलाई चाडपर्वको उत्साहले अझै छोएको छैन । आर्थिक मन्दीले थलिएको व्यापार व्यवसायमा दसैंलेसमेत उठाउन मुस्किल देखिन्छ । आर्थिक मन्दीको मारमा परेको व्यापार व्यवसाय चाडपर्वको मुखैमा निम्तिएको बाढी पहिरोले समेत प्रभावित भएको छ । चाडपर्वका लागि ऋण गरेर आयात गरिएका सामानसमेत अझै पसलसम्म आउन सकेका छैनन् । बाढी पहिरोका कारण उत्तरी नाकालाई जोड्ने सडक तथा मुख्य राजमार्गहरु अवरुद्ध हुँदा ती सामानहरु बाटोमै फसेका छन् । कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरुको भनाइ छ ।

न्युरोडस्थित रञ्जना महलमा स्टार जिन्स सञ्चालन गरिरहेका संयोग श्रेष्ठले पनि विगतको भन्दा व्यापार सुस्त भएको अनुभव सुनाए । विगतमा १०० प्रतिशत हुने व्यापारमा अहिले २० प्रतिशत पनि नभएको उनको अनुभव छ । दसैँको माहोल सुरु हुने तरखरमा बाढी पहिरोले बाहिरी जिल्लाका व्यवसायीहरु समेत आउन नसक्दा बजार सुनसान देखिएको उनको तर्क छ ।

महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले दसैँ नजिकिए पनि व्यापार शून्य अवस्थामा रहेको बताउँछन् । नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दसैँसम्म आउँदा ७५ प्रतिशतले घटेको उनको दाबी छ ।

दसैँ सुरु नै भइसकेको अवस्थामा काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतमा सामान किनमेल गर्ने ग्राहकहरुको भिड हुने भए पनि अहिले त्यस्तो माहोल देखिएको छैन । काठमाडौं उपत्यकाको मुख्य बजारमा दसैँका लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशतले कमी भएको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतका वर्षहरुमा जस्तो यसवर्ष पनि आर्थिक मन्दीले व्यापारमा उत्साह नदेखिएको व्यापारीहरु बताउँछन् । अझ दसैँको मुखमा अविरल वर्षाका कारण मुलुकभर आएको बाढी पहिरोले व्यापार व्यवसायमा थप संकट ल्याएको व्यवसायीहरु बताउँछन् । दसैँ लागेसँगै बजारमा ग्राहकको भिडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ ।

व्यापार व्यवसायमा मन्दी देखिनुमा देशका युवा विदेश पलायन हुनु पनि एउटा कारक रहेको व्यापारीहरुको तर्क छ । उपभोग गर्ने युवाहरु रोजगारी र शिक्षाका लागि विदेसिदा बजारमा माग बढ्न नसकेको व्यापारीको भनाइ छ । यद्यपि, व्यापारीको यो भनाइमा तथ्यांकगत पुष्टि गर्न अध्ययनै हुनु पर्ने देखिन्छ । कोभिडपछि सुरु भएको आर्थिक मन्दी यस वर्षको दसैँसम्म आउँदा चरम उत्कर्षमा पुगेको उनीहरुको अनुभव छ । जसले गर्दा दसैँमा बजार चलायमान भएर लगानी उठ्ने सम्भावना न्यून देखिन्छ । भन्सारका दरहरु हरेक वर्ष बढाएर सरकारले आयातलाई आम्दानीको मुख्य स्रोत बनाउँदा सामानको मूल्य वृद्धि भइरहेको उनीहरुको भनाइ छ ।

बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढी पहिरोले अवरुद्ध हुँदा धेरै व्यवसायीहरुको सामान नाका र बीच बाटोमै अड्किएर बसेका छन् । दसैंमा राम्रो व्यापारका साथै आम्दानी गर्ने व्यापारीको सपनामा तुसारापात भएको छ । जसले गर्दा उनीहरुमा खासै उत्साह देखिँदैन ।

अहिले बजारमा ७० प्रतिशत व्यापारमा गिरावट आएको र आफूहरु ठूलो मारमा परेको व्यापारीहरुको गुनासो छ । मर्कामा परेका व्यापारीलाई आवश्यक सहयोग गर्ने विषयमा सरकारले ध्यान दिन जरुरी रहेको उनीहरु बताउँछन् । बाढी पहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्गहरु बन्द हुँदा होलसेल व्यवसायीहरु थप समस्यामा परेका छन् । बैंकिङ समस्या र सरकारको कर नीति लगायतले दसैँमा बजार चलायमान हुने अवस्था नदेखिएको उनीहरु तर्क गर्छन् । भन्सार दरदेखि स्थानीय कर, घरभाडा, ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि आकासिँदा उपभोक्ताको हैसियतभन्दा माथि बजार मूल्य पुगेको छ । जसले सामान खरिद गर्ने उपभोक्ताको संख्या ह्वात्तै घटेको छ भने विगतको तुलनामा चाडबाडमा हुने रौनक नदेखिँदा व्यवसायीहरु निराश बनेका छन् ।