Breaking

दुई दिनको वर्षाले थलियो सरकार, राजमार्गको कन्तबिजोग


दुई दिनको निरन्तर झरीका कारण आएको बाढी पहिरोले ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी पहिरोमा परी २ सय २४ जनाले ज्यान गुमाएका छन् । साथै १७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

देशमा आएको विपद्ले ठूलो जनधनको सत्यानाश गरेको पीडा एकातर्फ छ नै, त्यससँगै चाडबाडकै मुखमा आइपरेको विपद्को प्रभाव हरेक क्षेत्रमा परेको छ ।

असोज ११ र १२ गते परेको अविरल वर्षाले ल्याएको विपद्का कारण यति बेला देश शोकमा डुबेको छ । बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिन राष्ट्रिय शोक नै घोषणा ग¥यो । सरकारको पछिल्लो तथ्यांकअनुसार बाढी पहिरोमा परेर हालसम्म दुई सय २४ जनाले ज्यान गुमाइसकेका छन् भने, २४ जना अझै बेपत्ता हुँदा एक सय ५८ जना घाइते छन् । मानवीय क्षतिले अपूरणीय पीडा एकातिर त छ नै, विभित्र क्षेत्रमा गरेर १७ अर्ब रुपैयाँ भन्दाबढीको क्षति भएको छ ।

अझै पनि १४ वटा राजमार्गका ४२ स्थानमा यातायात अवरुद्ध भएको अवस्थामा बाढीपहिरोका कारण क्षति पुगेका सडक तथा पुल पुनर्निर्माणमा मात्रै दुई अर्ब ५२ करोड लाग्ने सडक विभागले जनाएको छ । एक अर्ब ५० करोड मर्मत खर्च लाग्ने गरि २१ हजार पाँच सय मिटर सडकमा क्षति पुग्दा क्षति पुगेका चार सय १० मिटर पुल निर्माणका लागि ८२ करोड लागत लाग्ने देखिन्छ । त्यस्तै दुई सय मिटरको दुई वटा बेलिब्रिज बनाउन २० करोड लाग्ने विभागले अनुमान गरेको छ ।

महत्वपूर्ण संरचनामा भएको क्षतिलाई तुरुन्तै सञ्चालनमा ल्याउन राज्यको ढुकुटीबाट अर्बांै रकम खर्च हुने देखिँदा सरकारमाथि दबाब बढेको छ ।

त्यस्तै देशभरीका २६ वटा जलविद्युत् आयोजनामा वर्षाले क्षति पु¥याएको छ भने २८ सयभन्दा बढी मेगावाट विद्युत् उत्पादन क्षमतामा ३५ प्रतिशत ह्रास आएको छ । बाढी पहिरोले विद्युत् उत्पादन केन्द्र र प्रसारण लाइनहरूमा क्षति पु¥याउँदा राष्ट्रिय प्रसारणलाइनमा एक हजार मेगावाट विद्युत् कम भइरहेको छ । नेपालको सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन रोकिँदा कहिले सञ्चालनमा आउँछ अनिश्चित छ । यसले देशमा पुनः लोडसेडिङ हुन सक्ने त्रास बढेको छ ।

जलविद्युत् क्षेत्रमा मात्रै दुई अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन सार्वजनिक भए पनि ऊर्जा उत्पादकहरू क्षतिको यकिन विवरण अहिले नै अनुमान गर्न नसकिने बताइरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार खिम्ती–लामोसाँघु प्रसारण लाइनको टावर बगेका कारण २०० मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोड्न सकिएको छैन ।

बाढीले कृषकलाई पनि ठूलो क्षति पु¥याएको छ । खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कतै बगाएर उराठ लाग्दो बगर बनाइदिएको छ । भर्खरै पसाएको धान बाढीले सोतर बनाएपछि किसान मारमा परेका छन् । बालुवा, माटो, ढुङ्गा र रुखका मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै किसान बिलौना गर्न बाध्य छन् । पीडामा परेका किसान रुँदा रुँदा आशु नै सुकिसकेको छ । धानमा बाला लाग्दै गर्दा लहलह झुल्न थालिसकेका धानबाली बाढीले सखाप हुँदा अहिले खेत बगरमा परिणत भएको छ ।

नागरिक सडक र पुलका कारण कष्टकर यात्रा गर्न बाध्य छन् भने त्यहीँमाथि दसैँका लागि खोलिएको अग्रिम टिकट बुकिङ पनि रद्द गराउने तयारीमा यातायात व्यवसायी छन् । त्यस्तै हवाई क्षेत्रमा लुटतन्त्र मच्चिएको छ भने विपद्को मौका छोपी तरकारी र फलफूलको मूल्यमा कालोबारी नै चलिरहेको छ । यसले सडकदेखि आम उपभोक्ताको भान्छा नै महङ्गिरहेको छ । विपद्पछि उद्धार कार्यमा चुकेको सरकार महङ्गी नियन्त्रणमा पनि चुकेको छ ।

दुई दिनको बाढी, पहिरोमा पूर्वतयारी फितलो रहेको भन्दै सरकारको आलोचनामात्रै भएको छैन, हजारौं परिवार विस्थापित हुँदा आमजनताको दैनिकी नै प्रभावित भएको छ । चाडबाडकै मुखमा देशमा ठूलो विपत्ति पर्दा त्यसको मारमा हरेक क्षेत्र परेको छ । अपूरणीय मानवीय क्षतिदेखि नागरिकको दैन्दिन खलबलिरहेको अवस्थामा पहिरोले मुख्य राजमार्गहरु अवरुद्ध हुँदा यातायात सञ्जाल पनि टुटेको छ ।

यही मौका छोपेर हवाई सेवा कम्पनीहरुले एक्कासी भाडादर वृद्धि गरेर लुट मच्चाएका छन् । सडक सम्पर्क टुट्दा संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुदेखि तरकारीको भाउ आकासिँदा नागरिकको भान्छामा चुल्हो बल्नसमेत मुस्किल हुन थालेको छ । दिउँसै रात पार्ने कालोबारी मौलाउँदा पनि सरकार मौन बस्दा त्यसको चपेटामा सर्वसाधारण नागरिक परेका छन् ।

नागरिकको घाउमा मल्हम लगाउनु पर्ने सरकार राहत र उद्धारको निर्णय तथा निर्देशनमै व्यस्त देखिन्छ । सरकारले गरेका निर्णय र दिइएको निर्देशनका बाबजुद बजारमा मनपरीतन्त्र मौलाइरहेको छ । देशलाई नै ठूलो क्षति पुगेको यो अवस्थामा निजी क्षेत्रबाट हुनु पर्ने सहयोग र समन्वयमा अभाव खड्किरहेको छ । उल्टै निजी क्षेत्र कसरी हुन्छ लुट्न मच्चाउन उद्यत बन्नुले देशमा नागरिकले राज्य भएको अनुभूति गर्न पाएका छैनन् । यसबाट अहिलेको अवस्थामा सरकारले आफ्नो नियन्त्रण गुमाएको र प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणीका साथै तीव्र आलोचना भइरहेको छ ।