Breaking

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न साढे २ अर्ब लाग्ने


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न २ अर्ब ५० करोड रुपैयाँ लाग्ने जानकारी दिएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न सो रकम लाग्ने जानकारी दिएका हुन्।
हालसम्म क्षति भएका पुलको सङ्ख्या ५ रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुल रहेका छन्।

लार्चा र हेवा खोलाका गरी २ बेलिब्रिजमा पनि क्षति पुगेको जनाइएको छ।

मन्त्रालयका अनुसार हालसम्म भएका प्रयासमध्ये पृथ्वी राजमार्गको नौबिसे(मुग्लिङ खण्डको विभिन्न स्थानमा अवरोध हटाई एकतर्फी यातायात सञ्चालन भएको छ।

मन्त्रालयका अनुसार हालसम्म यातायात अवरुद्ध रहेका राजमार्गको सङ्ख्या १४ र स्थान ४२ रहेका छन्।

जसमध्ये अरनिको राजमार्ग, वीपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोरलगायत रहेका छन्।