Breaking

बिपी राजमार्ग दशैँअघि सञ्चालनमा ल्याउन कठिन


काठमाडौँ – तीन दिनको वर्षापछिको बाढीपहिरोले सबैभन्दा बढी प्रभावित भएको बिपी राजमार्ग दशैँअघि सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ ।

राजमार्गमा दुई हजार ५० मिटर सडकखण्ड बगाएको छ । रोशीदेखि नेपालथोकसम्मको खण्डमा विभिन्न ठाउँमा पहिरोले सडक बगाएको छ । रोशीदेखि नेपालथोकसम्मको सडकखण्ड करिब ३० किलोमिटर छ । त्यसमध्ये दुई हजार ५० मिटर सडकखण्डको कुनै नामोनिसाना छैन ।

दुई किलोमिटरभन्दा बढी सडक बगाएको ठाउँमा ट्रयाक नै नयाँ खोल्नुपर्ने भएकाले दसैँअघि बिपी राजमार्ग सञ्चालन सम्भव नरहेको सडक विभागले जनाएको छ । बर्दीबास–नेपालथोक खण्ड र धुलिखेल–भकुन्डेबेँसी सडक खण्ड भने सञ्चालनमा आइसकेको छ । सडक नै पुनस्र्थापना गर्नुपर्ने भएकाले थप बजेट व्यवस्थापन गरी खरिद प्रक्रिया अघि बढाएर काम गर्नुपर्ने सडक विभागले जनाएको छ । सडक पुनस्र्थापनामा कति बजेट आवश्यक पर्छ भन्ने यकिन भइसकेको छैन ।