Breaking

अमेरिकादेखि नेपालसम्मै ओलीको विरोध, मोदीको भेटले टर्ला सत्ता संकट ?


अमेरिका भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन असोज ४ गते न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् । खिसीटिउरी र विवादरहित बन्न नसकेका प्रधानमन्त्री ओलीको १० दिन लामो अमेरिका यात्रा कस्तो रह्यो त ?

गत हप्ताको बिहीबारदेखि लगातार तीन दिन वर्षा हुँदा देश बाढीपहिरोको चपेटामा परेका बेला उता अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडनको रात्रिभोजमा व्यस्त थिए । बिहीबार रातिदेखि लगातार वर्षा हुँदा देशमा बाढी पहिरोले वितण्ड मच्चायो । डुबान र बाढी पहिरोका कारण २ सयभन्दा बढी सर्वसाधरण हताहत भए । प्रधानमन्त्री ओलीको ट्वीट नियाल्ने हो भने यता नख्खु खोलामा बाढीमा फसेका नागरिक राज्यसँग जीवन रक्षाको गुहार गरिरहेका थिए उता प्रधानमन्त्री ओली हार्वर्डतर्फ दौडिरहेका थिए ।

ओली हार्वर्ड पुगेर भाषणबाजीमा व्यस्त हुँदा यता विपदको चपेटामा परेका नागरिकको सास नै छिनिरहेको थियो । विपदको पूर्वतयारी र घटना पछिको उद्धारका लागि सुरक्षाकर्मीको टोली तम्यार राख्न छोडेर मनमा पहिरो गएको काइते ट्वीट प्रधानमन्त्रीले गरे । विपद्का बेला देशमा प्रधानमन्त्रीको खोजी मात्र भएन कि उनीविरुद्ध गालीगलौज नै सुरु भयो ।

पीडितको उद्धार र विपद व्यवस्थानमा सरकार नाङगिए पनि प्रधानमन्त्री ओलीले विदेश भ्रमण छोट्याएर स्वेदश फर्किने चेष्टासमेत गरेनन् । सरकारको निकम्मा प्रवृत्तिविरुद्ध नागरिक आक्रोशित छन् । अमेरिका ओर्लिनासाथ कालो झण्डा र जुत्ताको भय व्यहोरेका प्रधानमन्त्री ओली भ्रमण सक्काएर चौतर्फी आलोचना र घेराबन्दी चुलिएका बेला स्वदेश आइपुगेका छन् । सोमबार अपराह्न काठमाडौं ओर्लिएका प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका भ्रमणको बखान नगर्ने कुरै भएन ।

हाम्रै दुई छिमेकी भारत र चीनले राष्ट्रसंघको महासभामा विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल पठाएको थिए । अमेरिकी राष्ट्रपति जो बाइडनसँग दुईपक्षीय कुटनीतिक भेटवार्ता, आफ्ना नागरिकलाई बृहत सम्बोधन र साइडलाइन बैठकसमेत भ्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनमै स्वदेश फर्किए । तर न्यूयोर्कमा आफ्नै नागरिकको लखेटाइदेखि कोलम्बिया विश्व विद्यालयमा आयोजित अन्तरक्रियामा अंग्रेजीमा चिप्लिएका कारण प्रधानमन्त्री ओली विवादित बने ।

नागरिकको पीडाभन्दा राष्ट्रसंघको रोस्ट्रम, अमेरिकी राष्ट्रपति जो बाइडेनको भोज, बाइडेनसँग कुम टाँसेर फोटो खिच्नु नै प्रधानमन्त्री ओलीको प्राथमिकतामा प¥योभन्दा फरक पर्दैन । अमेरिकामा केही आलोचनाकाबीच आफ्नो कुटनीतिक सक्रियता सार्वजनिक गरेरै भए पनि वाहवाही बटुल्ने प्रयास गरे पनि न त देशमा न त विदेशमा प्रधानमन्त्री ओली नागरिकको अभिभावक बन्न असफल रहे ।

फुर्सदिला बनेर अमेरिका हुइँकिएका प्रधानमन्त्री ओलीको न्यूयोर्क बसाईं कुटनीतिक एवम् राजनीतिक तबरमा कति सफल रह्यो त्यसको परिणाम पछि लेखाजोखा हुने नै छ । दर्जनौँ दुई पक्षीय साइडलाइन वार्ता र विभिन्न कार्यक्रममा भएका सम्बोधनको उपलब्धि के ? जलवायु परिवर्तनको असरले नेपालमा पारिरहेको अवसरबारे राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले आवाज त उठाए ।

तर, प्रधानमन्त्री ओलीले उठाएको आवाजलाई विश्वले कुन रुपमा ग्रहण गर्छ र ग¥यो भन्ने प्रश्न कायमै छ । जसले प्रधानमन्त्री ओली नै महासभामा सहभागी हुन अमेरिका जानु कति औचित्यपूर्ण थियो भन्ने प्रश्न उठेको छ । त्यसो त बाढी पहिरोको वितण्डा मच्चिनु अगाडि नै अमेरिका उडेका प्रधानमन्त्रीमाथि नागरिकको पीडालाई बेवास्ता गरे भन्ने आरोप लगाउनु तर्क संगत नहोला । यद्यपि, विपदबाट ठूलो जनधनको क्षति भएको खबर प्राप्त गरे लगत्तै भ्रमण छोट्याएर स्वदेश फर्किनु चाहिँ प्रधानमन्त्रीको मुख्य दायित्व हुने जानकारहरु बताउँछन् ।

यसका साथै काम नै सुरु नभएको बडो गर्वका साथ महासभामा प्रस्तुत गरिएको टीआरसी विधयकलाई यो सरकारले कसरी अगाडि बढाउँछ सबैले हेरि नै रहेका छन् । यस्तै कुटनीतिक सम्बन्ध विस्तार आफैँमा मुलुकका लागि हितकर भए पनि महासभामा भएका र गरिएका साइडलाइन बैठक कति उपलब्धिमुलक रहे ? उसबाट मुलुकलाई के फाइदा ? अनेक प्रश्नहरु तेर्सिएका बेला आमविश्लेषण भए जस्तै यदि भारतीय प्रधानमन्त्री मोदीसँग साँच्चै सम्बन्धमा ‘आइस ब्रेक’ भएकै हो भने मात्र बल्ल यसले अर्थ राख्नेछ । स्वयम् अस्तित्व संकटको सामना गरिरहेको राष्ट्रसंघले विभिन्न देशहरुले उठान गरेका विषयहरु केवल औपचारिकतामै सीमित बन्दै गएको छ । यस कारण औपचारिकतामै सीमित प्रधानमन्त्री ओलीको अमेरिका यात्रा पनि आलोचित र विवादित बन्दै सकिएको छ ।