Uncategorized

सत्तामा असफल कांग्रेस, गृहमन्त्री लेखकले माफी नै मागे


अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि गृहमन्त्रीमाथि नैतिक प्रश्न उठेको छ । सरकारले गरेको अलमलका कारण क्षति बढी भएको भन्दै भइरहेको आलोचनाको केन्द्रको पात्रगृहमन्त्री बनेका हुन् । जहाँ कार्यवहाक प्रधानमन्त्रीसमेत उनकै पार्टीको हुँदा यो प्रश्नको तार पार्टीसम्मै पुगेको छ भने राज्य सञ्चालनमा कांग्रेसको कच्चापनसमेत यसैमा प्रतिविम्बित भएको छ ।

विपदको पूर्वसूचना हुँदाहुँदै पूर्वतयारी, राहत र उद्धारमा चुकेको भन्दै यतिबेला सरकारको तीव्र आलोचना भइरहेको छ । त्यसमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक आलोचनाको केन्द्रमा रहँदा यो प्रश्नमा कांग्रेससमेत लपेटिएको छ । एउटै पार्टीका व्यक्ति राज्य शक्तिको उपल्लो तहमा रहँदापनि उनीहरुमा देखिएको समन्वय अभावमाथि यसले प्रश्न उठाउँदा सत्ता सञ्चालमा कांग्रेस जस्तो पुरानो पार्टीको कच्चापनसमेत यसैमा झल्किएको छ । फलतः आइतबार पार्टीको कार्यसम्पादन समिति बैठकमा उनीहरुले आफ्नै पार्टीका नेताहरुको आलोचना खेप्नु प¥यो ।

नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा कांग्रेसले नै सरकारको जिम्मेवारी सम्हालेको समयमा सरकारको सक्रियता प्रभावकारी नदेखिएको भन्दै उनीहरुमाथि प्रश्न उठाँउदा सहमहामन्त्री जीवन परियारले राजधानीमै उद्धारमा भएको ढिलाईमा प्रश्न गरे । जहाँ गृहमन्त्री लेखकले भने सीमित स्रोत र साधनका बीच विपदमा काम गर्नुपरेको जवाफ दिएका थिए।उनले आफ्नो बचाउँ गर्दैसरकारले ३३ सय जनालाई समयमै उद्धार गरेर ठूलो मानवीय क्षति हुनबाट जोगाएको लज्जास्पद प्रष्टीकरण दिए ।

अर्थात नख्खु खोलामा उद्धारमा भएको ढिलाईले ४ जना बग्दा त्यसपछिको घटनाक्रमसमेत थाहा नपाएका गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा नै दिनुपर्ने अवस्था रहँदाटालटुले जवाफ दिएर यो प्रश्न पार्टीसम्मै तानिने अवस्था सिर्जना गरे । यो अवस्थामा कांग्रेसलेप्रधानमन्त्री राहत कोषमा केही रकम जम्मा गरेर यसको क्षति न्यूनीकरणको प्रयासमा लागेको छ ।

यो बीचमा न त कांग्रेस सभापति शेरबहादुर देउवाले नै पार्टीलाई सक्रिय बनाउ सके न त महामन्त्री गगन थापा नै अगाडि आए । विपदको दुईदिन पछि अर्थात सोमबारमात्रै विपद्बाट उत्पन्न संकटको सामनाबारे छलफल गर्ने समय उनलाई मिल्यो । जब कि यी सबै काम विपद अघि नै र पार्टीका हरेक फोरमहरुमा हुनुपर्ने थियो । यसरी हेर्दा सत्तामै नभएको बेलामा भएपनि यस्ता विपत्तिमा ठूलो दलले जिम्मेवारी निभाउनु पर्नेमा केही समयलाई नै सही, सरकारको नेतृत्व र गृहमन्त्रालय नै आफ्नो पार्टीमा रहेको उनीहरुले बिर्से ।

विपदबारे पूर्वतयारीका लागि समन्वय गर्नुपर्ने निकाय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार पोखरेल आफैं शुक्रबार राति बेलायत उडेको कांग्रेसले बिर्सियो । नियमित नेतृत्व गरिरहेका सीईओ नै नभएपछि प्राधिकरणले समन्वयका लागि पर्याप्त काम नै गर्न सकेन भने यो बीचमा कर्मचारी तहले गरेको केही प्रयास सेनापति बिना युद्ध लड्न गएको सैनिकको जस्तै भयो ।

यो संकटपूर्ण घडीमा कार्यवाहक प्रधानमन्त्री सिंह त कहाँ थिए ? सायद कांग्रेसलाई थाहा थिएन होला । योबीचमा बसेका बैठकहरु समेत मन्तव्य र सुझाव दिनमै केन्द्रित बन्दा संकटअघि पूर्वतयारी नगरेको ‘कार्यवाहक सरकार’ संकटपछि उद्धार कार्यका बेलासमेत खेलाचीमै रमाउन पुग्यो ।

अहिलेसम्म क्षतिको यकिन विवरण संकलन गर्न मै सरकार चुकिरहँदा पीडितको पुनस्र्थापनामा दलहरुले आफ्ना नेता कार्यकर्ता परिचालन गर्न सक्थे । यी सबैमा कांग्रेस चुक्दा सत्तामा बसेर काम गर्न नसकेको प्रश्नको उत्तर दिनुपर्ने छ । अब सिंह र लेखकमाथि नागरिकस्तरबाट उठेका प्रश्नको समेत जवाफ दिनुपर्ने अवस्थामा पार्टी रहँदा त्यसका लागि यी दुई पात्रलाई जवाफदेही बनाउने जिम्मेवारी पनि पार्टी कै हो ।

यो अवस्थामा २०४४ सालमा दशरथ रंगशालामा भएको घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतीमन्त्री केशरबहादुर विष्टले देखाएको नैतिकता देखाउने ठाँउमा उनीहरु पुग्छन् कि पुग्दैनन् भन्ने प्रश्नसमेत अब पार्टीसँगै जोडिएको छ । जुन प्रश्नको उचित जवाफ नदिए पुराना दल तथा नेताप्रति बढ्दै गएको जनआक्रोशमा यसले अर्को इटा थप्ने छ ।