Breaking

विपदमै स्टन्टको होडबाजी, चणिकलालमाथि राजनीतिकरण


आफ्नो पार्टीको विचार र सिद्धान्तको माध्यमबाट जनताको सेवा गर्न राजनीति गर्नु पर्ने भए पनि नेपालका राजनीतिकर्मीहरूमा भने त्यो नैतिकता खासै देखिँदैन । उनीहरू विचार र सिद्धान्तलाई किनारा लगाएर आफ्नो स्वार्थको राजनीतिमा केन्द्रित हुँदै आएका छन् । अहिले त झन् त्यसबाट पनि एक कदम अघि बढेर विपद्मै जनतामाथि दलको राजनीति सुरु भएको छ ।

राज्य असफल भएर गृहमन्त्री रमेश लेखकले नै मृत घोषणा गरिसकेकालाई बचाएका काभ्रे, तिमालका ३६ वर्षे चणिकलाल तामाङको अहिले जताततै चर्चा छ । शनिबार नख्खु खोलामा आएको बाढीले टहराको छानाबाट चार जनालाई बगाउँदा दुई जनालाई उद्धार गरी नायक बनेका तामाङसँग भेट्ने र फोटो÷भिडियो बनाउन नेताहरूको प्रतिष्पर्धा नै भइरहेको छ । रौतहट स्थायी घर भई नख्खुमा बस्दै आएका राजु साह र उनकी छोरी मेघना साहलाई बचाउनु अघिसम्म तामाङको गाउँ, घर र आफन्त परिवारमा मात्रै उनको परिचय सीमित थियो ।

तर, उक्त घटनापछि भने नेपालका राजनीतिक दलले उनलाई आफ्नो पार्टीको कार्यकर्ता देख्न थालेका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमै बोलाएर सम्मान गर्दै चणिकलालाई कम्रेड शब्दले सम्बोधन गर्न भ्याए । तामाङ माओवादी केन्द्र निकट सहिद परिवारका सदस्य भएको भन्दै प्रचण्डले आफू निकट रहेको देखाउन खोजे । यता, बाग्मती प्रदेशका मुख्यमन्त्रीले डेढ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीको ट्रष्टबाट पनि उनलाई सम्मान गरिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु केही घण्टाअघि मात्रै कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा रहेका प्रकाशमान सिंहले हतारहतार सरकारको तर्फबाट सम्मान गर्न भ्याए ।

बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएपछि सत्ता पक्षलाई चुनौती दिँदै माओवादी अध्यक्ष प्रचण्डले हत्तपत्त सर्वदलीय बैठक बोलाए । यद्यपि, पछि सरकारबाट नै सर्वदलीय बैठकको आह्वान भएसँगै आफूले बोलाएको बैठक रद्द गरेका प्रचण्ड नै सरकारले बोलाएको बैठकमा अनुपस्थित भए । यता सत्तामा बसेर राज्य नै आफ्नो हातमा लिएको नेकपा एमालेले पनि कुलेश्वरमा एक बच्चाको उद्धार गरिएको भन्दै प्रचार गरिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले ७ असोजमै ठूलो विपत्ति हुन सक्नेभन्दै पूर्वसूचना जारी गरिसकेको भए पनि कुनै पनि दलले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । तर, अहिले विपद्ले ठूलो क्षति गरिसकेपछि भने सबै दलहरूले उद्धार तथा राहतमा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिइरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुई तिहाईको सरकारलाई दुई दिनको पानीले औकात देखाइदिएको भन्दै विपद्लाई राजनीतिकरण गर्न पछि हटेन ।

राष्ट्रिय हितको एजेण्डा र विपद्मा सबै दल एक ठाउँमा उभिनु पर्ने भए पनि विपद्लाई नै राजनीतिकरण गर्न दलहरू उद्दत भएको देखिन्छ । विपद्लाई आधार बनाएर राजनीतिक दाउँपेच गरिरहेका दलहरू जनताभन्दा पनि आफ्नै स्वार्थमा रमाईरहेका छन् । उद्धार गर्ने ताका तामाङ माओवादी वा अन्य कुनै विशेष राजनीतिक दल भएर बाढीमा पक्कै हाम फालेका होइनन् । आवश्यकता अनुसार मानवताको आधारमा आफ्नै ज्यानको बाजी मारेर पीडितको उद्धार गरेका हुन् । उनले गरेका कामलाई उच्च सम्मान र कदर गर्नै पर्छ । तर, विपद्को समयमा उनले गरेका कामलाई नै राजनीतिकरण गर्नु चाहिँ बिडम्बना नै मात्रु पर्छ ।

राज्यले सामान्य सचेतनामात्रै अपनाएको भए पनि झ्याप्लेखोलामा पहिरोबाट त्यति ठूलो मानवीय क्षति हुने थिएन । मौसम पूर्वानुमान महाशाखाले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउन आग्रह गरेको र स्थानीय तहले सूचना जारी गर्दा पनि अटेर गरेर चलाउने निकायलाई सरकारले रोक्न सक्नु पथ्र्याे । तर, त्यस्तो केही गर्न त सकेन नै, अझै राज्यलाई अटेर गरेर निर्वाध गाडी चलाउन दिने निकायमाथि पनि कारबाही गर्न सकेको छैन ।

बरु, विपद्मै जनतामाथि दलहरूको राजनीति सुरु भएको छ । नेपालका राजनीतिक दलले देश र जनताको सेवा गर्छन् वा गर्दैनन् त्यो ठ्याक्कै ठोकुवा त गर्न नसकिएला । तर, यति चाहिँ निर्धक्क साथ भत्र सकिन्छ कि उनीहरू जुनसुकै विषयलाई पनि राजनीतिकरण गर्न माहिर छन् । नेपालका राजनीतिकर्मीहरूको विशेष खुबी नै मात्रुपर्छ, विपद्मा पनि आफ्नो राजनीतिक स्वार्थ हेरेर दुनो सोझ्याउन कुनै कसर बाँकी राख्दैनन् ।