Breaking

सरकार सुस्त,फितलो तयारीले १५० बढीको ज्यान गयो


बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, डुबानलेजनजीवन अस्तव्यस्त बनेको छ । मौसम पूर्वानुमान महाशाखाले पूर्वसूचना जारी गरे पनि सरकारको कमजोर तयारीका कारण धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनु प¥यो । दुई दिनको भारी वर्षाले देशमा भएको यो वितन्डाले प्राकृतिक विपद न्यूनीकरणमा राज्य कति सक्षम छ भन्ने उदांगो बनाएको छ ।
दुई दिनको अविरल वर्षाका कारणदेशले ठूलो जनधनको क्षति व्यहोर्नु प¥यो ।

विभिन्न काम विशेषले यात्रामा निस्किएका कयौँपरिवारका सदस्यहरु बाटोमै अस्ताए । मुख्य राजमार्गहरु पहिरोका कारण क्षतविक्षत हुँदा हजारौँ यात्रु बिच बाटोमै अलपत्र परे । बीपी राजमार्गमा त दुई जना बिरामीले एम्बुलेन्समै ज्यान गुमाउनु प¥यो । भारी वर्षाका कारण बाढी पहिरोको चपेटामा परेकाहरुको समयमै उद्धार नहुँदा धेरैले अकालमा ज्यान गुमाए । कयौँ घाइतेहरु अस्पतालको शैय्यामा छटपटाइ रहेका छन् । अझै ५५ जना हराइरहेका छन् । सुरक्षाकर्मी तथा स्थानीयबाट उनीहरुको खोजी कार्य जारी छ । गृहमन्त्रालयको तथ्यांक अनुसारआइतबार साँझसम्मकाठमाडौंसहित २२ जिल्लामा मानवीय क्षति भएको छ । पछिल्लो विवरणअनुसार बाढी, पहिरो र डुबानको प्रकोपमा परी १४८ जनाले ज्यान गुमाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले पहिले नै जोखिम रहेको सूचना दिए पनि सरकारले समयमै पूर्वतयारी र सर्तकता अपनाउन नसक्दा ठूलो संख्यामा मानवीय र भौतिक क्षति व्यहोर्नु परेको विश्लेषण भइरहेको छ । विपद्पछिको राहत, उद्धार र धनजनको क्षतिबारेमा छलफल गर्न आइतबार दिउँसो सरकारले सर्वदलीय बैठक बोलायो । बैठकमा सरकारका प्रवक्ता पृथ्वीसुव्बा गुरुङले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहतको प्रबन्ध गरिने बताए । घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको बताउँदै अवरोध भएका राजमार्ग तत्काल खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहल गर्न निर्देशन दिएको जानकारी गराए ।

सरकारले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले विपत्तिमा सरकारले तदारुकता देखाउन नसकेको टिप्पणी गरेको छ । जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना जारी गरे पनि पूर्वतयारी र उद्धारमा सरकार सुस्त देखिएको बैठकपछि माओवादीका उपमहासचिव शक्ति बस्नेतले बताए ।

माओवादीले अन्तरसरकारी निकायलाई समन्वय गर्न आग्रह गर्दै खोज, उद्धारको कामलाई थप व्यवस्थित र चुस्तदुरुस्त बनाउन सरकारलाई सुझावसमेत देखिएको छ । यस्तै, वर्षाका कारण उत्पन्न संकटमा परेकाहरुको उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई परिचालित गर्ने भएका छन् ।सत्तारुढ नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहतका लागि सरकारको विपद कोषमा ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । यस्तै कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितलाई दिने भएका छन् । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

नेकपा एमालेले पनि पीडितहरुको उद्धार कार्यमा सम्पूर्ण पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेकोएमाले केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पार्टी कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको हो । यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पनिआफ्ना कार्यकर्ताहरुलाई स्वयंसेवामा परिचालित हुन निर्देशन दिइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि शनिबार वक्तव्य जारी गर्दै उद्धार कार्यमा नेता तथा कार्यकर्ताहरुलाई परिचालित हुन निर्देशन दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत उद्धार कार्यमा आफ्ना कार्यकर्तालाई परिचालन गरेको छ । सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत् नागरिकको जिउधनको सुरक्षामा खटिन आह्वान गरेका हुन् । बर्सेनि प्राकृतिक विपद्का कारणनेपालीहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । तर, सम्भावित विपदका घटनामा सरकार गम्भीर नबन्दा पूर्वतयारी र उद्धार कार्य नै फितलो हुने गरेको तथ्य लुकेको छैन ।

त्यसो त जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा बढी वर्षा हुने र देशका धेरै जसो स्थानमा बाढी पहिरोको जोखिम रहेको औँलयाएको थियो । यसअनुरुप सरकार गम्भीर भएर आवश्वक पूर्वतयारी गर्नु पर्ने थियो । तर, सरकारले पूर्वतयारी र विपद प्रतिकार्य योजनालाई भाषणमा मात्रै सीमित गर्दा विपद नै आइपरेको अवस्थामा भने घटनास्थलमा राज्यको उपस्थिति फितलो र सुस्त देखियो । यसले सरकारको चौतर्फी आलोचना भइरहेको छ । घटनास्थल पुगेका सुरक्षाकर्मीसमेत स्रोत साधनविहीन अवस्थामा उद्धारमा खटिनु पर्ने बाध्यताले विपद्प्रति राज्यको दृष्टि र व्यवस्थापन कार्य कस्तो छ भन्ने तथ्य उदांगिएको छ । देशमा विपद आइपरेको बेला यतिबेला सरकारको कार्यकारी प्रमख प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा अमेरिका भ्रमणमा छन् ।

अन्य देशका राष्ट्रपति तथा प्रधानमन्त्री देशमा कुनै आपत विपत आइपरे विदेश भ्रमण छोट्याएर तत्काल स्वदेश फर्किएका थुप्रै उदाहरणहरु छन् । तर प्रधानमन्त्री ओली भने सामाजिक सञ्जालमा नागरिकले भोग्नु परेको पीडामा सहानुभूति व्यक्त गर्दै छिट्टै स्वदेश फर्किने आश्वासन बाँड्दै अमेरिका भ्रमणमा मस्त देखिएका छन् । अमेरिका भ्रमणका क्रममा नेपाली जम्बो टोलीसहित भोजमा प्रधानमन्त्री ओली रमाइरहेको भन्दै सामाजिक सञ्जालमा नेपालीहरुले आलोचना गरिरहेका छन् । देशले भोग्नु परेको पीडामा राज्य र राज्य सत्तामा रहेकाहरु नै गम्भीर नहुँदा नागरिकको घाउमा मलमको साटो नुन चुक छर्किने काम भइरहेको आम नेपालीको बुझाइ छ ।