Breaking

झ्याप्लेखोलामा बेहाल, दोहोरियो २६ वर्ष पुरानो घटना, कहाँ–कहाँ छ सडक अवरुद्ध ?


तीन दिनको निरन्तर वर्षापछि झ्याप्ले खोलामा पहिरो जाँदा पुरिएका सवारी साधन र सवार यात्रुहरूको खोजी कार्य अझै सकिएको छैन । अहिलेसम्म कति गाडी र यात्रुहरू पुरिएका छन् भत्रे यकिन तथ्य नआइसकेको अवस्थामा पुरिएका सवारी साधन र शवहरू निकाल्ने क्रमले निरन्तरता पाइनै रहेको छ । त्यस्तै बाढी, पहिरोले देशैभरका राजमार्गको कन्त बिजोग छैन ।

संघीय राजधानी काठमाडौंको केन्द्र भागबाट करिब १५ किलोमिटर दूरीमा रहेको धादिङको धुनीबेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा पहिरो गएको २४ घण्टा बितिसक्यो । तर, अझै पनि खोजी कार्य भने निरन्तर जारी नै छ । पहिरोले बुटवल र चितवनबाट आएका दुईवटा माईक्रोबस सहित गोरखाबाट काठमाडौं गुडेको एउटा बस पूर्णरुपमा पुरिएको छ । त्यही पुरिएका सवारी साधन उत्खनन गर्ने क्रममा ३५ जनाको शव पनि निकालिएको छ अन्यको खोजी कार्य पनि जारी नै छ । पहिरोले अन्य छ÷सात वटा सवारी साधनमा पनि क्षति पुगेको छ ।

यसबाहेक पहिरोमा परेकाकोबारे विस्तृत विवरण अझै आइसकेको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नागढुङ्गाभन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेकै भए पनि समयमा नै सूचना नपाउँदा संघीय राजधानीको केन्द्रबाट नजिककै दूरीमा रहेको ठाउँमा पनि ठूलो मानवीय क्षति व्यर्होनु परेको छ । सो स्थानमा शुक्रबार बिहानदेखि वर्षा भएपनि पहिरो शनिबार बिहान ३ बजेतिर गएको थियो । त्यस्तै प्रहरीले शनिबार ९ बजे मात्रै घटनाबारे थाहा पाएकोमा स्थानीय जनप्रतिनिधहरूले १० बजे जानकारी प्राप्त गरेका थिए ।

यस्तै, झ्याप्ले खोलामा गएको पहिरोले बिच बाटोमै अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीले काठमाडौं ल्याउने भएको छ । ४० सिट क्षमताको २ वटा बसले अलपत्र यात्रुलाई काठमाडौंसम्म ल्याउने तयारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । अहिले पहिरो गएको ठाउँ निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङ मार्ग नजिकैको स्थान हो । उक्त झ्याप्ले खोलामा यसअघि २०५५ र ०५९ सालमा पनि ठूलो पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो ।

बाढी पहिरोका कारण देशैभरका राजमार्गको दुरावस्था दर्दनाक छ । काठमाडौंबाट बाहिरिने र भित्रिने सबै नाकाहरू ठप्प जस्तै छन् । यद्यपि, नौबिसेमा सवारी चाप अत्यधिक बढे पछि बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई नागढुङ्गा सुरूङमार्गबाट काठमाडौं पठाउन थालिएको छ । काठमाडौंबाट बाहिरिएका सवारी साधनलाई पनि पिपलबोटलगायत ठाउँबाट वैकल्पिक मार्गमार्फत पठाइएको छ । बाढी पहिरोले सबैभन्दा बढी सडक र पुलमा क्षति पुगेको छ । शुक्रबार र शनिबारको बाढीले मात्रै देशका महत्वपूर्ण पुलहरूमा क्षति पु¥याएको हो ।

मेचीराजमार्ग अन्तर्गत हेवा खोलाको ४९ मिटर लामो बेलिब्रिज बगाउँदा सुनकोसी नदीमा बढेको बहावले स्टिल टसको १०० मिटर स्पान बगाएको छ । सडक डिभिजन इलामअन्तर्गत आरसीसीको निर्माणाधीन ३५ मिटर लामो पुल पूरै बगाएको छ । हुलाकी राजमार्गअन्तर्गत झापाको बिरिङ खोलामा ३१८ मिटर लामोपुलमा क्षति पुगेको छ । धरानमा निर्माणाधीन लहान–गाइघाट–सोलुको सुनकोसी नदीले पुलको आधा भाग बगाएको छ । त्यस्तै सगरमाथा राजमार्ग अन्तर्गतको खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टारको १२० मिटर लामो पुलको बीच भाग भाचिएको छ ।

काठमाडौं उपत्यका जोड्ने राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदा देशभरका ५७ वटा सडक अझै सञ्चालनमा आउन सकेका छैनन् । सबैभन्दा बढी बीपी राजमार्गमा क्षतिपुगेको छ । बीपी राजमार्गको बर्दिबास–सिन्धुली–खुर्काेट– धुलिखेल सडक खण्डको काभ्रे जिल्लास्थित भ्याकुरेमा शनिबार बिहानदेखि सडक अवरुद्ध छ । त्यस्तै रामेछाप जोड्ने मुख्य दुइटा पक्की पुल सुनकोसी नदीले बगाएको छ भने एउटा पुलमा क्षति पुगेको तथा राजमार्ग पहिरोले बगाएका कारण रामेछापको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सिम्ले, धकलाङ, कोदारी, दोलालघाट चौतारीको सडक बन्द छ । त्रिभुवन राजपथ हेटौंडा–भैँसे–पालुङ–नौबीसे–काठमाडौं सडकखण्ड पनि अवरुद्ध छ । मध्यपहाडी राजमार्गअन्तर्गत ओखलढुङ्गाको भँडारे खोलाभन्दा माथिको सडकखण्ड रोकिएको छ । पूर्वमा मेची राजमार्गको चारआली–फिदिम सडकको फिदिममा सडक अवरुद्ध भएको छ। मिर्चैया कटारी घुर्मी सडकअन्तर्गत उदयपुरमा चनौटेदेखि घुर्मीसम्मको सडक बन्द छ । तमोर करिडोरको चतरा पुलदेखि वराहक्षेत्रसम्म जाने सडकमा पहिरो गएको छ । ललितपुरको ग्वार्काे–लुभु–लाकुरीभन्ज्याङ सडकको लाकुरीभञ्ज्याङ मानेदोभानमा पनि सडक अवरुद्ध छ । पश्चिममा डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको रामबजारमा सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटनको अर्घाखाँची घोलाडाँडामा पनि सडक रोकिएको छ ।

दसैँको मुखैमा भताभुङ्ग भएको सडक र पुल तत्काल बनाउन सक्ने अवस्था देखिँदैन । सडक र पुलको पुनर्निमाण तथा मर्मत हुन समय लाग्छ नै । त्यसैले चाडबाडअघि भएको यो विपद्को क्षतिले यात्रुहरू सुरक्षित गन्तव्यमा कसरी पुग्न सक्लान् ? भन्ने चिन्ता बढ्न थालेको छ ।