अन्तर्राष्ट्रिय

इजरायल–लेबनान युद्ध भयावह हुने संकेत, लेबनान छिर्दै इजरायली सेना


गाजापट्टीलाई धुलोपिठो पारेपछि अब इजरायली सेना लेबनानतर्फ केन्द्रित भएको छ । उसले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ । यो अवस्थामा इरान के गर्ला त ?


इजरायल र लेबनानको विद्रोही संगठन हिजबुल्लाहबीच औपचारिक युद्ध सुरु भएको छ । हिजबुल्लाहविरुद्ध इजरायलले सुरु गरेको युद्ध ‘टार्गेटेड हमला’देखि पेजर आक्रमण हुँदै भीषण बमबारीसम्म पुगेको छ । लेबनानमा इजरायली हमलापछि अवस्था थप नबिग्रियोस् भनेर संसारभरका नेताहरूले युद्ध रोक्न अपिल गरिरहेका छन् ।

युरोपेली संघ र संयुक्त राष्ट्रसंघले समेत युद्धलाई लिएर चिन्ता जनाएका छन् । इजरायली क्रूर हमलामा गाजा यति क्षत्विक्षत् भइसकेको छ कि अब यसको पुनर्निर्माण गर्न दशकौँ लाग्नेछ । गाजामा हमासको नाममा इजरायलले गरेको बर्बरतापूर्ण हमलामा हजारौँ महिला, बालबालिका मारिएका छन् ।

विद्यालय, अस्पताल जस्ता क्षेत्रमासमेत इजरायली सेनाले लगातार हमला गरी निर्दोष नागरिकको हत्या गरिरहेको छ । यहीँ अवस्था हेर्ने हो भने अब घुमिफिरी पालो लेबनान हिजबुल्लाहको देखिन्छ । अहिलेसम्म इजरायलले हिजबुल्लाहका एक दर्जनभन्दा बढी शीर्ष कमाण्डरहरूको हत्या गरेको छ ।

यो हत्या इरानका लागि जत्तिकै हिजबुल्लाहका लागि ठूलो चोट हो । किन कि हिजबुल्लाह इरान निकट मानिन्छ । इरानले गत जुलाईमा तेहरानको गेस्ट हाउसमा हमासका राजनीतिक नेता इस्माइल हानियाको अपमानजनक हत्याको बदला लिन सकेको छैन । अहिले के भएको छ त्यसले शासनमा रहेका कट्टरपन्थीहरूलाई सोच्न बाध्य तुल्याइरहेको छ ।

हिजबुल्लाहसँगै यमनमा हुथीहरु र सिरिया तथा इराकमा धेरै समूहहरू छन् । इरानले यी समूहहरूलाई उक्साएर इजरायल र अमेरिकाका दुवै अड्डाहरूमा आक्रमण गर्न आग्रह गर्न सक्छ । तर, इरानले जुन कुनै कदम चाल्छ, यसले सम्भवतः युद्ध भयङकर र भयावह हुने सम्भावना धेरै छ ।

इजरायलले आफ्नो निकटतम सहयोगी संयुक्त राज्य अमेरिकासहित १२ राष्ट्रहरूले प्रस्ताव गरेको २१ दिने युद्धविरामका लागि आफ्नो सैन्य अभियानलाई रोक्ने कुनै मनसाय देखाएको छैन । इजरायल डिफेन्स फोर्सले यस उद्देश्यका लागि सीमा नजिकै आफ्नो सेनाले प्रशिक्षण गरिरहेको फुटेज जारी गरेको छ ।

हिजबुल्लाहले पनि पछिल्लो युद्धको अन्त्यदेखि अर्को युद्ध लड्ने तालिमका लागि १८ वर्ष बिताइसकेको छ । मृत्यु हुनु अघि आफ्नो अन्तिम सार्वजनिक भाषणमा नसरल्लाहले आफ्ना अनुयायीहरूलाई दक्षिण लेबनानमा इजरायली आक्रमण ‘एउटा ऐतिहासिक अवसर’ हुने बताएका थिए । त्यसोत इजरायलले हिजबुल्लाहमाथि अनपेक्षित रुपमा गरेको आक्रमणले सिंगो अरब क्षेत्रलाई नै त्रसित बनाएको छ । यो आक्रमणले अरबियनहरुलाई एकताबद्व बनाउने र यदि इजरायलले थप आक्रमण गर्दै अरब विश्वलाई धावा बोलेमा सिंगो अरबविरुद्ध इजरायलले युद्धको घोषणा गर्नुपर्ने हुन्छ । यसले झनै खतरा मडारिन सक्ने विश्लेषण हुन थालेको छ ।