समाचार

महेन्द्रनगरमा युवाकवि भट्टको ‘एकल साँझ’


महेन्द्रनगर । युवाकवि कविराज भट्टको एकल साँझ कञ्चनपुरमा सम्पन्न भएको छ । मानसखण्ड फाण्डेसनले आयोजना गरेको उक्त एकल’साँझको अध्यक्षता फाउण्डेसनका अध्यक्ष वरिष्ठ साहित्यकार नारा जोशीले गर्नुभएको थियो । फाउण्डेसनले दुई हप्ता अघि सूचना जारी गरी एकल साँझमा सहभागी हुन टिकेटको व्यवस्था गरिएको थियो ।

होटल ओपेरामा सम्पन्न एकल साँझमा युवाकवि भट्टले केही कविता र गजल प्रस्तुत गरेका थिए भने श्रुति सङ्गीत पाठशालाका सङ्गीत गुरु नरेश जोशीले उनका गजलहरुको गायन गरेका थिए ।

कार्यक्रममा अमिटी कलेज, लिटिल स्टार पब्लिक मा.वि., ब्रिक्स्टन कलेज, सिएमजी क्लब, गंगोत्री गोल्ड, तेजल प्रिन्टिङ, निङ्लाशैनी कम्प्युटर लगायतका संघसंस्था तथा साहित्य प्रेमी व्यत्तिःहरुले सहयोग गरेका थिए । मानसखण्ड फाउण्डेसनले एकल साँझका अवसरमा संस्थाको वार्षिक मुखपत्रका रुपमा मानस मुखपत्र कविराज विशेषांकका रुपमा प्रकाशन गरि विमोचन गरेको छ । उक्त मुखपत्रमा भट्टको जीवनी लगायत पाँच दर्जन बढी साहित्यकार तथा साहित्यप्रेमीहरुले शुभकामना तथा विचार व्यक्त गरेका छन् ।

मानसखण्ड फाउण्डेसनले १२ वर्ष अघि हेमबाबु लेखकको एकल साँझबाट पहिलोपटक एकल साँझको सुरुवात गरेको थियो । दोस्रो साँझका रुपमा कविराज भट्टको एकल साँझ सम्पन्न गरेको छ । एकल साँझको संयोजन संस्थाका कोषाध्यक्ष महादेव अवस्थीले गरेका थिए भने सञ्चालन संस्थाका सचिव लेखकले गरेका थिए ।

एकल साँझकै अवसरमा युवाकवि भट्टलाई दोसल्ला र प्रमाणपञबाट अभिनन्दन गरेको थियो । करिब ३ घण्टा चलेको कार्यक्रममा कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुबाट १५० बढी दर्शक/स्रोताहरु सहभागी भएका थिए ।