राजनीति

दलहरुको‘ललिपप’अस्त्र, धोका खाएपछि नागरिकको दैलोमा, नेता सुध्रिए कि झुक्याउने मेलो ?


काठमाडौँ— पुराना दलआलोचना र नयाँ दल प्रश्नको घेरामा पर्दा उनीहरु नागरिकतर्फ फर्किन थालेका छन् । त्यसका लागि नागरिक र आफ्ना नेता कार्यकताँसग जोडिने अभियान सञ्चालन गरेका उनीहरु आफूविरुद्धको प्रचार चिर्ने तयारीमा छन् । जुन कदम आत्मबोध कि नागरिक झुक्याउने रणनीतिमात्र भन्ने प्रश्न कायमै रहँदा के के गर्दै छन् त दलहरु ?

व्यवस्थाका लागि लडेको भन्दै लामो समय त्यसको ब्याज खाएका पुराना दल आफूमाथिको प्रश्न पेचिलो भए पनि नागरिकतर्फ फर्किने रणनीतिमा लागेका छन् । अराजकता चाहनेहरुले माहौला बिगारेको, पार्टी एकीकरणका नाममा कार्यकर्ता भेट्न नसकेको तथा बढ्दो निराशाको प्रभाव जताततै देखिन थालेपछि एमाले (मिसन ८४) सहित यो बाटोमा छ । सत्तामै रहँदा भाका राख्ने उसको यो कदम कतिपयले नागरिक झुक्याउने अस्त्र मात्र भएको भन्दै आलोचना गर्दा एमाले एक्लै बहुमत ल्याउने लक्ष्यमा देखिन्छ । फलतः आगामी महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पु¥याउने लक्ष्य लिएको एमाले कार्ययोजना नै बनाएर नेता कार्यकर्ता भेट्न लागि परेको छ । महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको वार्षिक कार्ययोजनामा ०८२ को नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पु¥याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ।पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई पठाएको १८ बुँदे कार्ययोजनाको १४ नम्बर बुँदामा बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भनिएको छ। यतानेपाली कांग्रेसले पनि असोज ७ गतेदेखि पुस १६ सम्मका लागि १०० दिने संगठन सुदृढीकरण अभियान थालेको छ । जिल्लामा गएर सबै समस्याको समाधान र समाधान हुन नसकेका विषयमा समाधानको सुझाव लिएर आउने गरी कांग्रेसले ७७ जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाएको हो । यसले सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयमै गराउन यो अभियानले सहयोग गर्ने आशामा कांग्रेस नेतृत्व छ ।

यता फुर्सदमा रहेको माओवादीका लागि त झन यही मात्र विकल्प बाँकी छ । यही कारण केन्द्रीय सदस्य र पदाधिकारी तहमा बहस चलाइसकेको उसले नागरिकमा फर्किने बाटो रोज्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप बढ्दो छ । गठबन्धन नगर्ने ठूला दलको निर्णयले आफैँबलियो हुनुपर्ने बाध्यतामा माओवादी रहँदा सके मुद्दा उचाल्ने रणनीतिमा प्रचण्ड देखिन्छन् । यता फुटेर छिन्नभिन्न भएपछि विरक्तिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत कार्यकता भेटिरहेका छन् । महाधिवेशन पछि पार्टीमा आशा पलाउँदा उनी आधारभूत सङ्गठन निर्माणमा व्यस्त देखिन्छन् । यसले राजनीतिक दृश्यमा चुनावकै झल्को दिने अवस्था देखिँदानयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेत यही बाटोमा छ । फलतः उसले राष्ट्रिय भेला गरेर भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल गरेको छ । २०८२ वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने रास्वपाले तय गर्दा सभापतिमाथि लागेको सहकारी ठगीको आरोपको उत्तर दिनसमेत नागरिकमा जानैपर्ने अवस्था छ । आगामी निर्वाचनबाट बहुमतको सरकार बनाउने आशाकाबीच अहिले नै पार्टीको यात्रा ओरालोतर्फ उन्मुख देखिँदा ड्यामेज कन्ट्रोलको एकमात्र उपाय नागरिकमै जाने भएको उसले बुझिसकेको छ ।

हुन त नेता नागरिक कहाँ जानु राम्रै विषय हो । पछिल्लो अवस्थाले अफ्ठ्यारो पर्दा मात्रै नागरिकमा जाने उनीहरुको पुरानै शैलीलाई यसले पुष्टि गरेको छ । अर्थात यो सत्तामा हुञ्जेल काम नगर्ने र पेलानमा परेपछि आमनागरिकको दिमाग भुट्न जाने प्रवृत्तीकै निरन्तरताको रुपमा देखिँदानेताका कथनी र करणीबीचको फरक छताछुल्ल भएको छ । जसको उत्तर कामबाटै दिनुको विकल्प नरहँदा कार्यकता बनाउने र टाउको गन्ने उनीहरुको पुरानो रणनीतिले छुटफुट भएका कार्यकता समेटिए पनि नागरिकले विश्वास गरिहाल्ने अवस्था विकास गर्ने सम्भावना कम छ । साथै यतिका वर्षको पाई पाई हिसाब खोज्न बसेका उनीहरुका प्रश्न सामना गर्न नेताहरुलाई चुनौती देखिँदा झोले बनाउने र राजनीति गर्ने उनीहरुको अस्त्रसमेत भुत्ते भइसकेको छ ।