देश

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक


काठमाडौँ— कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् ।

प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन् ।