Breaking

रविलाई डामेर आफ्ना नेता जोगाउँदै कांग्रेस–एमाले


सहकारी ठगीमा प्रहरी अनुसन्धान रास्वपा सभापति रवि लामिछाने केन्द्रित बन्दा त्यही प्रकृतिका आरोपीहरुले भने उन्मुक्ति पाउँदैछन् । लामिछाने पक्राउको कार्ड फालेर जनताको ध्यान त्यसतर्फ केन्द्रित गर्ने र सरकार निकटकाहरुलाई जोगाउने प्रयत्न हुँदा सहकारी प्रकरणमै पनि सत्तारुढ पार्टी निकटका ठगहरुलाई दण्डको साटो पुरस्कार दिइदैछ ।


मन्त्री बनेको दुई महिनासम्म चुपचाप रहेका गृहमन्त्री रमेश लेखक सहकारी ठगीको प्रतिवेदन कार्यान्वयनमा एकाएक आक्रामक देखिएका छन् । खासगरी पीडितले रकम फिर्ता पाए–नपाएपनि रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउको तयारी चर्चामै छ । हुन त सहकारी ठगीमा संलग्न रविभन्दा ठूला माछा फरार सूचीमा छन् । उनीहरुलाई नेपाल झिाकाउन समेत प्रहरी असफल बनिरहेका बेला रविमाथिको कारवाहीलाई रास्वाले राजनीतिक प्रतिशोध भनेको छ ।

तर, सरकारका पछिल्ला केही गतिविधिले सम्पूर्ण ध्यान रवितिर केन्द्रित गरेर केही आरोपितहरुलाई उन्मक्ति दिने प्रकृतिका देखिएका छन् । सहकारी प्रकरणमै पनि सत्तारुढ पार्टी निकटका ठगहरुलाई दण्डको साटो पुरस्कार दिइदैछ ।
१. संगीता तामाङ
गोरखा सेभिङ र शिव शिखरसहकारीको करिब १३ अर्ब अपचलनमा छानविन समितिले नै तामाङलाई दोषी किटान गरेको छ । तर, प्रतिवेदन बुझाएको दुई दिन बित्न नपाउँदै असाज २ गते उनी सहकारी विकास बोर्डको सदस्य नियुक्त भएकी छिन् । अनुसन्धान गर्नपर्ने पात्रलाई सरकारले नै पुस्कार दिँदा बचतकर्तामाथि सरकारले नै अन्याय गरेको छ । त्यसमाथि दुधको साची बिरालो भनेझैं सहकारी ठगलाई नै सहकारी नियमन गर्ने जिम्मेवारी दिइएको छ । संगीता सहकारी ठगीका बादशाह डीबी बम्जन र ज्ञानबहादुर बम्जनकी भान्जी हुन् जसले सहकारी ठगीमा संगठित जालो नै फैलाएका थिए ।
२. धनराज गुरूङ
ललितपुरस्थित मितेरी सहकारीको करिब १५ करोड हिनामिनामा मुछिएका धनराज गूरूङमाथिको अनुसन्धान अलपत्र परेको छ । सीआईबीको सारा शक्ति पोखरा केन्द्रित हुँदा धनराज चोख्याउने प्रपञ्च सुरु भएको छ । सहकारीकी सञ्चालक रहेकी उनकी पत्नी ज्योतिसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तर, संसदीइ छानविन समितिले समेत अनुसन्धानका लागि भनेको अवस्थामा धनराजको नाममा अनुसन्धान नै सुरु गरिएको छैन । उनीबाहेक अरु संलग्नमाथि भने अनुसन्धान प्रकृया अघि बढेको छ । धनराजले सार्वजनिक रुपमा अनुसन्धान गर्न भनेपनि ज्योतीसँग आफ्नो सम्बन्धविच्छेद भइसकेकाले ठगीको दायीत्व नलिने बताइरहेका छन् । डिभार्सपछि पनि धनराजले जतीको रकमको किस्ता तिरेको देखिएको छ । यसले उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने हो । तर, उन्मुुक्तिको प्रयास हुँदैछ ।


३. ऋषिकेश पोखरेल
मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा एमाले सांसद ऋषिकेश पोखरेलको पनि नाम जोडिएको छ । सो सहकारीमा ६ वर्ष सञ्चालक रहेकी उनकी श्रीमती अञ्जलाको अवधिका समेत १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् । अञ्जला शिक्षिका भएकाले पछिल्लो उनको हस्ताक्षर मात्रै प्रयोग गर्ने र सारा आर्थिक कारोवार सहकारीका अध्यक्ष सम्भुप्रसाद रौनियार र ऋषिकेश मिलेर गर्नेगरेका बिषय सार्वजनिक भएका छन् । तर, कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले भने उनकी श्रीमती अञ्जलाको नाम काटेर अन्य पदाधिकारीमाथि अनुसन्धान गर्न पत्राचार गरेको छ ।
४. रिता वैद्य
कार्यवाहक प्रधानमन्त्री रहेका प्रकाशमान सिंहकी दिदी हुन् रिता वैद्य । विशेषगरी रवि लामिछाने गृहमन्त्री भएका बेला बालमन्दीर जग्गा घोटलाको फाइल खुलेको थियो । नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिनामा वैद्यको मूख्य भूमिका देखिन्छ । ३३ वर्ष संस्थाको अध्यक्ष रहेकी वैद्यले नक्सालमा रहेको २८ रोपनी पाँच आना जग्गा विनाप्रतिस्पर्धा वृहस्पति विद्या सदनलाई कौडीको भाउमा लिजमा दिएकी थिइन् । त्यसपछि गत वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीँगै पक्राउ पुर्जी जारी भएका एक दर्जनले वयान दिइसकेका छन् । भने उनले भने स्वास्थ्यका कारण वयान दिन नसक्ने भन्दै टार्दै आएकी छिन् । अहिले अनुकूलको वातावरण बनेपछि अहिले राजनीतिक पहुँच र सत्ताको दबाबमा उन्मुक्ति दिने तयारी भएको छ । अहिले बाल संगठन र बृहस्पति विद्या सदनबिच अदालतमा मिलापत्र भएमा मुद्दा नचल्न सक्नेगरी बाटो खोजिदैछ ।

हुन त सरकार बनाउन भएको कांग्रेस–एमाले सम्झौतालाई नै आरोपी जोगाउने राष्ट्रिय सहमतिको रुपमा अथ्र्याइदा पछिल्ला गतिविधिले त्यसको पुष्ट्याइँ गरिरहेको छ । आफ्नो राजनीतिक जीतहारकै आधारमा अनुसन्धान र अभियोजनको प्रकृयामा सरकार जाँदा सरकार नभई राज्य संयन्त्रप्रतिकै विश्वास गुम्दै गएको छ ।