Breaking

राष्ट्र संघमा ओलीको गर्बिलो उपस्थिति, भारत–चीनलाई सम्झाए कुटनीति


प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालको तर्फबाट सम्बोधन गरेका छन । सम्बोधनका क्रममा ओलीले नेपालको शान्ति प्रक्रिया, विश्व शान्ति र जलवायु परिवर्तनले पारेको असरवारे विश्वसमुदायको ध्यानकर्षण सहित क्षतिपूर्तिमा समेत जोड दिएका छन ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति नेपालको तर्फबाट महासभामा सम्बोधन गरेका छन् । २२ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले जलवायु संकट, भूराजनीतिक द्वन्द्व र सैन्य खर्चको वृद्धिका कारण विश्व अस्थिरताउन्मुख रहेको निश्कर्ष सुनाएका छन् ।

ओलीलाई नेपालको शान्ति प्रकृयामा भएको प्रगति नै महासभामा सुनाउने गर्विलो मुद्दा बन्न पुग्यो । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गरेका ओलीले आफूनेतृत्वको सरकारले हालै संक्रमणकालीन न्यायसम्बन्धि विधेयक पारित गरेको र शान्ति स्थापनाका लागि प्रतिवद्ध रहेको बताए । यसबाहेका इजरायल–प्यालेष्टाइन सहित रुस युक्रेन र मध्यपूर्वक अन्य द्वन्द्वहरु शान्तिपूर्ण संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

अहिलेको यो प्रतिकूल अवस्थामा नेतृत्वले उपयुक्त खालको सहकार्य र आपसी सहयोगलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्वका विकसित मुलुकमा हुने कार्बन उत्सर्जन र जलवायु परिवर्तनले नेपालमा पारेको असर र यसको क्षतिपूर्तिको विषयसमेत उठान गरेका छन् । जलवायु परिवर्तनबाट नेपाल सबैभन्दा बढी प्रभावित भएको विश्व समुदायलाई सुनाएका छन् । हिमालय क्षेत्रको एजेन्डालाई जलवायु वार्तामा ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका छन ।

यसबाहेक महासभामा ओलीले नेपालको छिमेक नीति र परराष्ट्रनीतिको पनि चर्चा गरेका छन् । नेपालले कसैसँग पनि शत्रुता नराख्ने र सबैसँग मित्रता गाँस्ने अटुट आस्थासहितको परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पारेका छन् । नेपालले आफ्ना छिमेकीहरूसँग र त्यसभन्दा पर पनि निकट, मित्रतापूर्ण र रचनात्मक सम्बन्धलाई थप अभिवृद्धि गर्न चाहेको स्पष्ट पारेका छन् ।

सम्बोधनको सात दिन अघि नै न्यूयोर्क पुगेका ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टचार भेटवार्ता गरेका थिए । अन्यौल्ताकाबीच ओली र मोदीको भेट आफैमा महत्वपूर्ण रुपमा हेरिएको छ । ओली प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो भनेट न्यूयोर्कमै भएको हो । यसले संवादहिनताको अवस्थामा रहेको ओली मोदी सम्बन्धको आइस ब्रेकका रुपमा विश्लेषण भईरहेको छ ।

न्यूयोर्कस्थित महावाणिज्य दुतावसले आयोजना गरेका कार्यक्रम स्थगित भएपछि अनेक आलोचना भए पनि प्रधानमन्त्री ओली महासभामा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिहरुसँग साईडलाईन बैठकमा सक्रिय रहे । अमेरिकी राष्ट्रपति जो बाईडनको रात्रिभोजमा सरिक हुँदै शिष्टचार भेट भयो । यसबाहेक बंगलादेशको अन्तरिम सरकार प्रमुख सल्लाहकार मोहमद यूनुस सहित दर्जनौ उच्चस्तरीय भेट भएका छन् । हुन त संयुक्त राष्ट्रसंघ स्वंम पछिल्लो समय आलोचनाको सिकार बन्दै आएको छ । सुरक्षा परिषदका सदस्यहरुबीचको बेमेलदेखि राष्ट्रसंघकै पुर्नसंरचनाको बहस तिव्र बनेका बेला त्यहाँ उठान भएका विषयहरु कति सम्बोधन होलान् ? आम प्रश्न स्वभाविक भए पनि दुईपक्षीय अन्तराष्ट्रिय स्तरमा मुलुकहरुबीचको कुटनीतिक सम्बन्ध सुमधुर बनाउने माध्यम भने बन्न सक्नेछ ।