Breaking

पर्वतारोहीको बीमा रकम दोब्बर गर्न विश्व शेर्पा संघको माग


काठमाडौँ – विश्व शेर्पा संघले पर्वतारोहण पेशामा आवद्ध पर्वतारोहीहरुको जीवन बीमा रकम दोब्बर गर्न माग गरेको छ । संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेट गर्दै चार बुँदे ज्ञापन पत्र बुझाउँदै न्यूनतम जीवन बीमा रकम १५ लाखलाई बढाएर ३० लाख पु¥याउन माग गरेको संघका महासचिव आङ जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै हिमाली क्षेत्रमा दुर्घटनामा परेका शेर्पा परिवारका बालबालिकाको शिक्षा रोजगारीको समेत व्यवस्था गर्न तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा शेर्पा समुदायको योगदानको कदर गर्दै उनीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने माग राखेको छ । संघले नेपालका शेर्पा गाउँहरूमा स्थानीय भाषामा अध्ययन अध्यापनको नीति भए पनि त्यसको कार्यान्वयन नभएकाले प्राथमिक तहमा शेर्पा भाषाको अध्ययन अध्यापन अनिवार्य गर्न माग समेत गरेको छ । ज्ञापनपत्रमा सोलुखुम्बु जिल्लामा पर्ने थामे गाउँको प्राचीन बस्तीमा हिमताल फुटेर क्षतिग्रस्त घरहरूको पुनर्निर्माणको माग गरिएको छ ।

गाउँको भौगोलिक अवस्थाका कारण पुनर्निर्माण कार्य अत्यधिक महँगो हुने भएकाले नेपाल सरकारले पूर्ण क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्न विशेष सहयोग गर्नुपर्ने संघको माग छ । संघले नेपालका बौद्ध धर्मका धार्मिक स्थल, स्तूपा, चैत्य र गुम्बाहरूको अतिक्रमण रोक्न र जीर्ण अवस्थाको संरक्षण तथा पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ । यी स्थलहरू बौद्ध धर्मसँग सम्बन्धित भए तापनि तिनले नेपालको समग्र पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको उल्लेख गर्दै संघले सरकारलाई तुरुन्त कदम चाल्न आग्रह गरेको छ ।