Breaking

रवि फस्ने भएपछि रास्वपामा छटपटी, जेल नजाने स्वर्णिमको ठोकुवा


सहकारी ठगीको बिषयलाई राजनीतिकरण गरेको भन्दै सत्तारुढ दल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आरोप–प्रत्यारोप चलिरहेको छ । सरकार छानविन समितिको प्रतिवेदनलाई आधार मानेर रास्वपा सभापति रवि लामिछानेलाई जेल हाल्न उद्धत रहदा सिंगो पार्टीपंक्ति नै भयभीत देखिन्छ ।

सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चासँगै चीन भ्रमणका लागि गएको उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली स्वदेश फर्किएको छ । गत शनिबार चीन गएको टोलीका १४ मध्ये आठ जना बिहीबार फर्किएका हुन् भने बाँकी ६ जना शुक्रबार फर्किदै छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा १० दिनको भ्रमणमा निस्किएका नेताहरु पार्टी सभापति लामिछाने पक्राउ पर्नसक्ने भएपछि भ्रमण छोट्याएर पाँच दिनमा नै फर्किनुपरेको हो ।

उपसभापति वाग्लेले लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको भएकाले प्रतिकार गर्न बिचैमा भ्रमण टुंग्याएको स्पष्ट पारेका छन् । सभापति व्यक्ति मात्रै नभइ संस्था भएकाले त्यसको सामना एकजुट भएर गर्ने उनले बताए । पार्टी सभापति लामिछानेले व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट रकम नलिएको छानबिन समितिले नै प्रष्ट उल्लेख गर्दापनि कसैको राजनीति जोगाउनकै लागि जबरजस्ती अपराधी बनाउन खोजिएकोमा उनको प्रतिवाद छ । राजनीतिक प्रतिशोध साध्नकै लागि सभापतिलाई टार्गेट बनाएकाले प्रतिवाद गर्ने चेतावनी रास्वपाले दिएको छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता तथा लेखा समिति सभापति ऋषिकेश पोखरेलसमेत सहकारी ठगीमा मुछिदा पनि सरकरको अनुसन्धानको सुई रविमा मात्र केन्द्रित हुनुले आफ्ना जोगाउने सरकरको नियत प्रष्ट भएको बुझाई रास्वपाको छ ।

तीन÷चार करोडकोपछि लागेर ८७ सय करोडको मुद्दा सामसुम पार्ने प्रपञ्च भएको उसको दाबी छ ।सहकारी पीडितलाई न्याय दिनुको सट्टा सरकारमा बसेका दलहरू झन् सहकारी ठगीलाई नै राजनीतिकरण गरेर आफ्नो स्वार्थ सिद्ध गरिरहेको आरोप रास्वपाको छ । तर, रास्वपाले नै राजनीतिकरण गर्दा कानुनी कारवाही गर्न अप्ठ्यारो परेको एमालेको बुझाई छ । छानविन समितिको प्रतिवेदनले रास्वपा सभापतिलाई भन्दा पनि गोरखा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशकमाथि औला उठाउँदा रास्वपा पार्टी नै उर्लिएको एमाले महासचिव शङ्कर पोखरेल बताउँछन् ।

भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका पार्टीहरु पनि वैकल्पिक शक्तिकै रुपमा उदाएका थिए । उनीहरू राजनीतिक प्रतिशोधकै कारण जेल पनि चलान भए । अझै पनि सङ्घर्ष गरेरै राजनीतिको मैदानमा पनि फर्किएका छन् । तर, रास्वपा भने सभापतिसँगै सती जान खोजिरहेको छ । अहिले पक्राउको हल्ला रास्वपा पार्टी सभापति भन्दा बढी गोर्खा मिडिया नेटवर्कका पूर्व एमडीको हैसियतमा रहेका रविको बिषय भएकाले अनुसन्धानमा पार्टी नै बाधक बन्न नहुने जानकारहरु बताउँछन् ।

दुई तिहाईको सरकारले शक्तिको दुरुपयोग गर्दै व्यक्ति केन्द्रीत कारवाही र प्रतिषेध बढाउँदै गए जनताले त्यसको प्रतिवाद गर्ने भन्दै रास्वपा कार्यकर्ताको भीड उचाल्न खोज्दैछ । कुण्ठा र इगो राखेर षड्यन्त्र गर्ने उद्देश्यले सरकार अघि बढेको बताएको रास्वपा गोरखा मिडियाका सञ्चालक मध्यका एक छविलाल जोशीको बयान नआउँदै छटपटिएको छ ।

यदि रविको नैतिक धरातल बलियो हो भने उनी सरकारसँग पनि डराउनुपर्ने अवस्था बन्ने छैन । रास्वपा स्थापनाको सवालमा रविको क्रेज महत्वपूर्ण भए पनि एकसे एक क्षमतावान् नेता पार्टीभित्र भएकाले उनकै कारण पार्टी धरापमा परिनहाल्नेमा रास्वपाकै एक पंक्ति विस्वस्त छ । त्यसकारण प्रहरीले अनुसन्धानको दायरामा ल्याउन खोज्दा प्रतिवाद वा प्रतिकार गर्नु रास्वपाकै लागि प्रत्यूत्पादक बन्नसक्ने सम्भावनालाई पनि नकार्न सकिदैन ।