अन्तर्राष्ट्रिय

झनै चर्कियो युद्ध, लेबनानका घर–घरमा इजरायली सेना


इजरायल र लेबनान कृही दिनयता एकअर्काबीच निरन्तर हवाई आक्रमणमा छन् । विश्व शक्ति राष्ट्रहरुले २१ दिनका लागि युद्धविराम गर्न माग गरेका छन् । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनले युद्ध झनै भीषण बन्ने संकेत मिलेको छ ।

इजरायल–हिजबुल्लाह झनै क्रद्ध बन्दा युद्ध तत्काल रोकिने सम्भावना घट्न थालेको छ । पेजर र वाकीटकी विष्फोटबाट सुरु भएको जवाफी कारवाही तीव्र बन्दै जाँदा मध्यपुर्व थप तनावपूर्ण बन्ने देखिएको हो । जुन कारबाही अहिले घातक हवाई आक्रमणमा परिणत हुँदा ६ सय बढीको मृत्यु भईसकेको छ भने हजारौ घाइते भएका छन् ।

दशौं हजारभन्दा बढी मानिस विस्थापित छन् । जारी युद्धमा इजराइलको हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएका छन् । मंगलबार दक्षिणी बेरूतमा इजराइलले गरेको हवाई हमलामा परी हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम कुबैसीको मृत्यु भएको हो । इजरायली डिफेन्स फोर्स (आईडीएफ)का लेफ्टिनेन्ट जनरल हलेवीले जेले भनेका छन्–‘इजरायली सेना लेबनान प्रवेश गर्छ र आक्रमण तीब्र पार्छ । हामी उनीहरूमाथि आक्रमण जारी राख्नेछौं र यी आक्रमणहरू सबै पक्षबाट हुनेछन् ।’

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘उद्देश्य स्पष्ट छ कि नागरिकहरू उत्तरी क्षेत्रमा फर्किनुपर्दछ । त्यसका लागि हामी प्रक्रिया सुरु गर्ने तयारीमा छौं ।’ सीमा क्षेत्रमा युद्ध चर्किदै जाँदा स्थिति थप गम्भीर बन्दै गएको छ । यसअघि हिजबुल्लाह र इजरायलबीच सन् १९८० को दशकमा युद्ध भएको थियो । तर, सीमामा पछिल्लो युद्ध अक्टोबर ७, २०२३ पछि सुरु भयो । यो बढ्दो द्वन्द्व रोक्न कूटनीतिक तहमा पहल भइरहेको छ । फ्रान्स र अमेरिकासहितका शक्तिशाली देशहरुले २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।

अमेरिका, युरोपेली संघ र बेलायत जस्ता सहयोगी राष्ट्रहरूले लेबनान र हिजबुल्लाहबीच अस्थायी युद्धविराम कार्यान्वयन गर्न माग गरेका छन् । यो प्रस्ताव सफल भए कूटनीतिक वार्ताबाट थप समाधान खोज्ने र गाजामा पनि युद्धविराम गर्न सकिने अपेक्षा छ । तर, इजरायलले भने दक्षिणी लेबनान र बेका क्षेत्रमा आक्रमण जारी राखेको छ । त्यसमाथि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम इन्कार गर्दै उत्तरी सीमामा रहेका आफ्ना नागरिकहरु सुरक्षित घर नफर्किएसम्म लडाईं जारी राख्ने बताएका छन् । इजरायली सेनाले बुधबार राति मात्रै ७५ स्थानमा हिजबुल्लाह लक्षित आक्रमण गरेको जनाएको छ । इजरायल कसैको कुरा सुन्ने पक्षमा छैन । यस्ले पनि हमास समुहलाई झै घुँडा टेकाउने मोडमा इजरायल देखिन्छ ।