Breaking

२५ सयमाथि टिकेन सेयर बजार


काठमाडौँ – अघिल्लो दिन बढेर २५१९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा ३२.८१ अंक घटेको बजार २४८६ मा कायम भएको छ ।

कारोबार खुल्दा सकारात्मक देखिएको बजार ११ : २४ बजे २५४१ अंकसम्म पुग्यो । जुन इन्ट्राडेमा उच्चतम अंक रह्यो । त्यसपछि सामान्य उतारचढावका बाबजुत अन्तिमसम्म गिरावट जारी रह्यो । ३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८४ करोडको भयो ।

यस दिन अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटे । व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।
विन नेपाल लघुवित्तको ९.८, बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशत मूल्य बढ्यो । ग्रीन भेन्चरको मूल्य १० प्रतिशत घट्यो । दोर्दी हाइड्रोपावरको ७.६, अपी पावरको ७.४, थ्रीस्टार हाइड्रोपावरको ५.७, इङ्वा हाइड्रोपावरको ६.६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा अपी पावर, एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।