Breaking

हाम्रो संसदको स्तर निकै तल रहेको महसुस हुन्छ : सभामुख घिमिरे


काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपालको संसदको स्तर निकै तल रहेको महसुस भएको बताएका छन् । उनले सांसदहरुले गर्ने गतिविधि र देखाएको व्यवहारले संसदको स्तर निकै तल रहेको महसुस हुने बताएका हुन् ।

‘सांसदहरुको अभिव्यक्तिले के देखाउँछ भने अघिल्लो दिन खबरदार यसो भनिस् भने भनेको छ, भोलिपल्ट ऊ अर्को पक्षमा पुग्छ र त्यही कुरालाई हिजो खबरदार भन्दै थिइस् खै तैँले गरेको भन्छ, यसले हाम्रो स्तर कहाँ छ भन्ने देखाउँछ, जता बसे पनि एउटा जिम्मेवारी साथ व्यवहार गर्ने कुराले चाहिँ हाम्रो स्तर निकै तल छ भन्ने महसुस हुन्छ’, उनले भने ।

संसदमा विषय केन्द्रित छलफल भइदिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको सभामुख घिमिरेले बताए । ‘स्तरीय भए हुन्थ्यो, अझ व्यवस्थित भए हुन्थ्यो भन्ने लाग्छ, विषय केन्द्रित भइदिए हुन्थ्यो, त्यो विषयले केही दिन पाए हुन्थ्यो’, उनले भने ।

सभामुख घिमिरेले संसदीय समितिहरुले पनि राम्रो काम गर्न नसकेको बताए । समितिका बैठकमा कोरम नपुग्ने, सांसदहरुले राम्रो तयारी नगर्ने र समिति सभापतिहरुले धेरै समय नदिने समस्या पनि देखिएको उनको भनाइ छ ।