राजनीति

चीन पुगेर स्वदेश फर्कियो रास्वपा टोली


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीको टोली चीन पुगेर फर्किएको छ । दश दिने भ्रमणका लागि भन्दै उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार राति चीन गएको थियो ।

तर सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर स्वदेश फर्किएको हो ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम भने स्थगित गरेको उनले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो । रास्वपा टोली सोमबारै स्वदेश फर्किने भनिए पनि टिकट नपाएको भन्दै आज बिहान मात्र काठमाडौं आएको हो ।