काठमाडौँ— नागरिक र सत्तारुढ पार्टी तहहरुबटै सरकारका काममा ब्यापक असन्तुष्टि देखिएको छ । त्यसमाथि भूराजनीतिक परिस्थिती पनि अहिलेको सरकारको पक्षमा त्यती धेरै नरहदा प्रतिपक्षीले आशंका गरेजस्तो सरकारको आयु दशैं–तिहारभन्दा धेरै समय नजाने संकेत त होइन ?
सरकार बनेको सय दिन समेत बित्न नपाउँदै सरकारविरुद्ध जनता र सत्तारुढ दलहरुकै अविश्वास बढ्दो छ । हुन त प्रतिपक्षीहरुले सरकार ढल्ने भन्दै दिने गरेको समय पनि नजिकिन थालेको छ । उनीहरुले दशैं–तिहार मनाउन पाउनुलाई नै यो सरकारको सौभाग्य ठान्ने गरेका छन् । संख्याको हिसाबले उनीहरुको यो आशंका तत्कालै सत्यमा बदल्न सहज नदेखिएपनि दुई तिहाईको संख्यात्मक शक्ति काममा देखिन सकेको छैन । यसले केही आशंका भने अवश्य पनि उब्जाएको छ । देश–विदेशमै सरकार र प्रधानमन्त्रीविरुद्ध अविश्वासको खाडल झनै गहिरिँदै गएको छ । र यही आवाजलाई बल पुग्नेगरी कांग्रेसका शेखर कोइरालालले आफ्ना अभिव्यक्ति चर्को पारेका छन् । सत्ताको भाग खाएको शेखर पक्ष आफूले पठाएका मन्त्री र पदाधिकारीभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तोष राख्छ । कुलमान घिसिङसँग जाइलाग्नेदेखि उपसभामुख हटाउने प्रयाससम्ममा असन्तुष्टि देखिँदा कांग्रेस–एमाले मिले सबैथोक हुने बताउने शेखर नै यो सरकारले पनि नतिजा दिन नसकेकामा असन्तोष पोख्छन् ।
खासमा भारतले यो समकिरणलाई नरुचाएको बिषयमा पनि शेखर सचेत रहेको बुझिन्छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रयासका बाबजुत पनि भारतले ओली त्यती सहज नबन्दा यसैमा शेखर पनि खेल्न खोजिरहेको चर्चा छ । हुन त पहिलो पार्टी भएर पनि माओवादीलाई सत्ता छाडेकै समयदेखि कांग्रेसमा शेरबहादुर देउवाले संसदीय दलको नेता छाड्नुपर्ने सुक्ष्म आवाज नउठेको होइन । त्यसका लागि शेखरले आन्तरिक प्रयास थाले पनि उनीसँग पर्याप्त संख्या भने छैन । यही मुुद्दालाई शेखरले पर्टीको १५ औँ महाधिवेशनसँग पनि जोड्न थालेका छन् । २०८३ सालमा प्रधानमन्त्री बनेपछि मात्रै देउवा महाधिवेशन गराउने मूडमा रहदा त्यसअघि नै महाधिवेशन गराउन शेखरले सचेत नै गराएका थिए । यसबाहेक रास्वपा सभापति रवि लामछानेमाथि कारवाही, कांग्रेस र गृहमन्त्री रमेश लेखकका लागि प्रतिष्ठाको बिषय हो ।
तर, अमेरिका भ्रमणमा रहेका ओलीकै निर्देशनमा रवि पक्रने बिषय तत्कालका लागि रोकिएको चर्चा छ । एकाततिर उनीमाथिको कारवाही रोकिए कांग्रेससँग ओलीको सम्बन्ध चिसिन सक्नेछ । किनभने कथम कांग्रेसले धोका दिए ओलीका लागि रास्वपा नै टेको बन्ने तथ्य बिगतले देखाइसकेको छ । अर्कोतर्फ माओवादीसँग सरकारमा हुँदा प्रचण्ड नै प्रधानमन्त्री भए पनि ओलीले दबाबमा राखेर आफूले लाभ लिने गरेका थिए । फलतः देउवा स्वयं पनि अहिलेको गठबन्धन ०८४ सम्मै लैजना इमान्दार रहेको ओलीले बुझ्नु र दुई वर्ष सत्ता सुरक्षित हुुने भएकाले कांग्रेससँग कम्प्रमाइज गर्नुपरेको छ । यो कम्प्रमाइजको बाध्यताबाट हट्न खोजे वा एकलौटी गरेर हिंड्न खोज्ने प्रवृत्तिका ओलीको धैर्यता टुटे जुनसुकै बेला जे पनि हुनसक्ने जानकारहरु बताउँछन् ।
हुन त एमालेसँग बन्ने हरेक समीकरणका शुत्राधार अहिलेका अर्थमन्त्री विष्णु पौडेल रहेको तथ्य ओपन सेक्रेटजस्तै छ । अहिले भारत ओलीप्रति खासै सकारात्मक नरहेकै समय उनै पौडेल चीन भ्रमणमा छन् । भ्रमणको प्रयोजन अर्कै भए पनि सत्ता टिकाउन ओलीको अर्को अश्त्र हो चीन । किनभने, चीन रिझाएरै तेस्रो पार्टीका प्रचण्डले सरकार टिकाउँदा दोस्रो पार्टी रहेको एमालेले त्यो कार्ड खेल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । छिमेकी मुलुक भारत र चीन दुुबै देश अहिलेको सरकारको अनुकूल छैनन् । प्रयासका बाबजुद पनि ओलीले चाहेजति सकारात्मक नदेखिने लक्षण भारतले देखाइसक्दा चीनसँग अनुकूलताको प्रयास गर्नु एमालेका लागि आवश्यक र अन्तिम अश्त्र पनि हो । किनभने कुनै एक छिमेकी पनि सन्तुष्ट नरहेमा त्यो सरकारको आयू धेरै नहुने कुरा नेपालको भूराजनीतिक प्रभावको मामिलामा नीकै महत्वपूर्ण हो ।
प्रतिपक्षमा पुगेपछि माओवादी अध्यक्ष प्रचण्डकै गतिविधि द्वेध चरित्रका छन् । एकैछिनमा ओलीप्रति आक्रोशित भइहाल्ने र एकैछिनमा मन माझामाझ गरिहाल्ने प्रचण्डको प्रवृत्तिले एमाले आफैँ अचम्मित छ । केही हदसम्म यो तथ्यलाई एमाले महासचिव शंकर पोखरेलकै अभिव्यक्तिले पनि बल थप्छ । बुधबार मात्रै पोखरेलले प्रचण्डको छटपटीले राष्ट्रिय राजनीतिलाई नै तनावपूर्ण बनाएको तर्क गरेका थिए । भारत सकारात्मक नदेखिएकै समय अर्थमन्त्रीको चीन भ्रमण, रवि पक्राउ प्रकरणमा गृह र प्रधानमन्त्रीका फरक गतिविधि र प्रचण्डको छटपटीको पटाक्षेप कांग्रेस रिसाउँदाको परिणाममा त देखिने होइन ? आशंका उब्जिएको छ ।
प्रतिक्रिया