काठमाडौँ— न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राण देउवालाई भेटवार्तामै भइनभ्याइ छ । यता चीन भ्रमणमा रहेका उपप्रधान एवंम अर्थमन्त्री विष्णु पौडेल पनि उच्चस्तरीय कुटनीतिक भेटघाट गरिरहेका छन् । सरकारका शीर्ष नेतृत्वको विदेश दौडाह र उच्चस्तरीय कुटनीतिक सक्रियता भारत–चीन अमेरिकासँगको भु–राजनीतिक शक्ति सन्तुलनको प्रयास हो वा फुर्सदको सदुपयोग ? चासो बढेको छ ।
घरेलु राजनीतिको अस्तब्यस्तता दुई ठूदा दल मिल्दा केही हदसम्म ठिकठाक रहेको दाबी गरिएकै समय शीर्ष नेतृत्व विदेश दौडाहमा ब्यस्त छ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका तर्फबाट महासभा सम्बोधन गर्न बाँकी छ । तर अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा महासभामा सम्बोधन गरिसकेका छन् । कार्वन उत्सर्जनमा शुन्य योगदान हुँदाहुँदै अतिकम विकसित मुलुकहरु जलवायू परिर्वतनको भयावह असर खेप्न बाध्य भएको भन्दै विश्व समुदायसँग क्षतिपूर्ति मागेका छन् । यसबाहेक बिभिन्न सार्वजनिक बहसमा सहभागिता जनाइरहेका ओलीले न्यूयोर्कमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका समकक्षी दासो छिरिङ तोग्बेदेखि झन्डै दर्जनबढी कुटनीतिक भेटवार्ता गरिसकेका छन् । कुटनीतिक परिणाम विस्तारै देखिदै जानेछ । तर अमेरिकामा ओली र मोदीको भेट आफैमा अर्थपूर्ण मान्न सकिन्छ । लामो समयदेखि संवादहीनताबाट गुज्रिरहेको ओली–मोदी सम्बन्ध, नेपाल मामिलामा भारतको बढ्दो वेवास्ताका बीच परराष्ट्रमन्त्री आरजु राणाको बलमा भएको उक्त भेट नेपाल–भारत सम्बन्धमा आइस ब्रेक भएको कतिपयको बुझाई छ । ३० मिनेटका लागि तय भएको वार्ता ४५ मिनेटसम्म चल्नुले नेपाल मामिलामा मोदीको झुकाव बुझन सक्ने कतिपयको तर्क छ ।
प्रधानमन्त्री ओलीसँगै अमेरिकामा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाको कुटनीतिक सक्रियता कम चाखलाग्दो छैन । अन्यौल्ताकै बीच अनुनय गरेरै भएपनि भारतीय समकक्षी मोदीसँग ओलीको भेट गर्ने वातावरण मिलाउन सफल राणाले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहयोगका लागि विश्व समुदायसँग अपील गरिन् । प्रधानमन्त्री ओलीलाई उछिन्दै दर्जन बढी दुईपक्षीय साइडलाइन संवाद गरेकी छिन् । राणाले मंगलबार अमेरिकी उपविदेशमन्त्री जोन वाससँग पनि भेटवार्ता गरेकी छिन् । यतिसम्म कि विरोध र बिबादले प्रधानमन्त्री ओली र उनका एजेण्डा छायामा पर्दा आरजुको सक्रियता भने चर्चामै छ । जबकी सुरक्षा थ्रेट देखाएर स्थगित गरिएका कार्यक्रममा ओली र आरजु दुबै उपस्थित हुँदै थिए । तर, त्यहा ओलीको मात्रै बढी चर्चा हुँदा आलोचनाबाट आरजु केही जोगिएको देखिन्छ । यता यही समयमा उपप्रधान तथा अर्थमन्त्री उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । चीन सरकार र ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इनोभेसन एण्ड नलेज सेन्टर’ले बेइजिङमा आयोजना गरेको ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’लाई पनि सम्बोधन गर्न चीन पुगेका पौडेल पनि भेटघाटमा ब्यस्त छन । पौडेलले मंगलबार चीनका उपप्रधानमन्त्री हि लिफेङसँग भेट गरेका छन् । भेटमा उपप्रधानमन्त्री पौडेल पोखरा र भैरहवा विमानस्थल चलाउन सघाउन चीनसँग अनुरोध गरेको जनाएको छ । चीनको विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न र केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई सघाउन अनुरोध गरेको जनाएको छ । यी उच्चस्तरीय दुईपक्षीय कुटनीतिक भेटवार्ता र संवाद सम्बन्ध सम्बन्ध सुधारसँगै द्विपक्षीय हित र विद्यमान समस्याहरु सुल्झाउन महत्वपूर्ण बन्नसक्ने अपेक्षा गरिएको छ ।
घरेलु राजनीतिमा समेत उत्तर र दक्षिणका छिमेकीसहित पश्चिमा छिमेकी अमेरिकी संलग्नतालाई नकार्न सकिन्न । केही आन्तरिक राजनीतिले मलजल गरे पनि नेपालमा सत्ता ढाल्न वा सत्ता निर्माणमा यी शक्तिहरुको स्वार्थले भूमिका खेल्दछ । शीर्ष नेतृत्वका त्रिपक्षीय कुटनीतिक गतिविधिवारे चासो मात्र होइन यी भेटवार्तामा भू–राजनीतिक शक्ति सन्तुलन र नेपालको स्वार्थवारे बहस स्वभाविक हो ।
प्रतिक्रिया