Breaking

एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित


काडमाडौँ – चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित भएको छ ।
न्यू ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा पहिलो २० मिनेटपछि नै नेपाल दश खेलाडीमा समेटिएपछि उज्वेकिस्तानले त्यसको फाइदा उठायो । नेपालका सविन घिमिरेले बल रोक्ने क्रममा बल हातले रोकेपछि उनले सिधै रातो कार्ड सामना गरेका थिए । त्यसका उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । तर उरिनबोएभको पेनाल्टी प्रहार नेपालका गोलकिपर जियरात शेखले बचाएका थिए ।

तर साइदुमार्खोन साइदनुरल्लायभले २४ औं र २७ औं मिनेटमा लगातार गोल गर्दै उज्वेकिस्तानलाई २-० को अग्रता दिलाए ।
२९ औं मसनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३-० को अग्रता बनायो । नेपालले रक्षात्मक खेल्दै उज्वेकिस्तानलाई रोक्ने प्रयास गरेपनि दोस्रो हाफमा थप तीन गोल व्यहोर्‍यो ।

उज्वेकिस्तानका लागि मिर्जाएभले ६७ औं, मेयिरबेक रेजाबालिएभले ८७ औं र अब्दुगाफुर हेदारोभले ९० औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाए ।

समूह बीमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको थियो । तीन खेल खेलिसकेको नेपालको एक जित र दुई हारबाट ३ अंक मात्र छ ।

एएफसी यु-२० एसियन कपको साविक विजेता समेत रहेको उज्वेकिस्तानको भने यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७-० ले पराजित गरेको थियो ।

लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनको सामना गर्नेछ ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यु-२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यु-२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।