अन्तर्राष्ट्रिय

अर्को गाजा बन्दै लेबनान, इजरायलको हमलाजारी करिब ६ सय मारिए


काठमाडौँ— गाजा युद्ध अब लेबनानसम्म विस्तार हुँदा मध्यपूर्वमा युद्ध चर्कएको छ । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ५सय ५८ जनाको मृत्यु भएपछि मध्यपुर्व थप तनावपूर्ण बनेको हो । मध्यपूर्वका दुई छिमेकी इजरायल र लेबनान । तर अहिले दुबैले एकअर्कामाथि हवाइ आक्रमणको वर्षा गरिरहेका छन् । गत वर्षको अक्टोबर ७ मा गाजाबाट हमासले इजरायलमाथि रकेट आक्रमण गरेपछि बल्झेको युद्धमा लेबनानको हिजबुल्लाह पनि संलग्न हुँदा दुवै देशमा जोखिम झन् बढेको देखिन्छ ।

अहिलेसम्म इजरायलको आक्रमणबाट गाजामा हजारौंले ज्यान गुमाइसकेका छन् । उक्त आक्रमणपछि हमाससँग युद्ध गरिरहेको इजरायल अब लेबनानमा आक्रमण गर्नतर्फ केन्द्रित बनेको छ । लेबनानको सशस्त्र समूह हिजबुल्लाहले शुरूदेखि नै हमासको समर्थनमा इजरायलमाथि आक्रमण गर्दै आएको थयो । महिनौँदेखि चलेको छिटपुट आक्रमण अहिले भने भयङकर बन्दै गएको छ । दुई महिना अघि मात्रै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘अत्यन्त शक्तिशाली’ आक्रमण गर्न इजरायल तयार रहेको बताएका थिए । “यदि कसैले हामीमाथि आक्रमण गर्छ र हामी हात बाँधेर बस्छौँ भन्ने सोच्दछ भने त्यो ठूलो गल्ती हुनेछ,” लेबनानसँगको सीमा क्षेत्रमा पुगेर नेतान्याहुले धम्की दिएका थिए । नेतान्याहुको धम्की अहिले सत्य सावित हुँदा लेबनान रणभूमि बनेको छ । हिजबुल्लाह लक्षित पछिल्लो इजरायली आक्रमणमा मात्रै अहिलेसम्म ४९२ भन्दा धेरैको मृत्यु भइसकेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमा ३५ बालबालिका र ५८ महिला पनि छन् । १ हजार ६४५ जना घाइते भएका छन् । जरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको छ । जसका कारण हजारौँ नागरिक आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् । इजरायली सेनाका अनुसार हिजबुल्लाहले पनि उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ । उक्त आक्रमणमा दुई जना घाइते भएका छन् । इजरायल र हिजबुल्लाह लडाकुहरूबीच द्वन्द्व चर्किंदै गएपछि धेरै देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । यो द्वन्द्व ठूलो युद्धमा परिणत हुनेमा विश्वभरका नेताहरू चिन्तित छन् । द्वन्द्व समयमै रोक्न नसकिए मध्यपूर्व क्षेत्रको आकाश बारुदको तुवाँलोले ढाक्ने र हजारौ जनताको ज्यान जाने चिन्ता बढेर गएको छ ।