खेलकुद

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै


काठमाडौँ— भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ ।

भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ । भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । अर्को खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका यसअघिका दुवै खेलमा पराजित हुँदै एक खेल अघि नै समूह चरणबाट बाहिरिसकेको छ ।

पाकिस्तान र भुटानका लागि समूहको अन्तिम खेलमा बराबरी खेले पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ । नेपालको लागि भने भुटानलाई हराउनैपर्ने अवस्था छ । त्यसैले भुटानविरुद्धको खेल नेपालका लागि गर या मरको अवस्थामा छ ।