अन्तर्राष्ट्रिय

श्रीलंकामा कम्युनिस्टको उदय, विश्वको नजर दिसानायकेतिर


श्रीलंकाको राष्ट्रपतिमा पहिलो पटक वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । आर्थिक संकटबाट तंग्रिँदै गरेको अर्थतन्त्र सही बाटोमा ल्याउने र जनतामा सकारात्मकता सञ्चार गर्ने जिम्मा उनकै हातमा पुगेको छ ।

अहिले दक्षिण एसियादेखि विश्वभर नै ‘कम्युनिष्ट’ शब्दको चर्चा भएको छ । अमेरिकी राष्ट्रपतीका लागि उम्मेवार बनेकी कमला ह्यारिसलाई प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले ‘कमरेड कमला’ भन्छन् । जुन विषय विश्वभरका मिडियाहरुकोको हेडलाइन बन्यो । अहिले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँगै कम्युनिस्ट शब्द पनि चर्चामा आएको हो । ७५ वर्षसम्म श्रीलंकाको शासन सत्ताको वरिपरी रहेकाहरुको विरासतमा ब्रेक लगाउँदै दिसानायके राष्ट्रपति बनेपछि फेरी एक पटक अन्र्तराष्ट्रिय मिडियाहरुको हेडलाइन बने ।

आर्थिक संकट चुलिएपछि श्रीलंकामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि श्रीलंकामा राजापाक्षे परिवारको रजगज अन्त्य गरेको थियो । प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिनु परेको थियो भने उनका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षे २०२२ जुलाई १४ मा देश छोडेर भाग्नुरेको थियो । त्यसपछि संसदले ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो ।

त्यसबेला अधुरो रहेको शासन सत्तामा परिवर्तनको चाहना श्रीलंकाली नागरिकले शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन मार्फत पूरा गरे । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएर राष्ट्रपति भए । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेले २३ लाख हाराहारी मत पाएकोमा उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रियदसाले ४५ लाख बढी मत ल्याए ।

दिसानायके एनपिपी गठबन्धअन्तर्गत कम्युनिस्ट पार्टी जनता विमुक्थी पेरामुना (जेभिपी)का नेता हुन् । जेभिपीले सन् १९७१ र सन् १९८० को दशकको अन्त्यमा गरी दुईपटक कम्युनिस्ट विद्रोह गरे पनि असफल भएको थियो । विद्रोहीविरुद्ध सरकार निर्मम रूपमा उत्रिदा झन्डै ६० हजारको मृत्यु भएको थियो । विद्रोहमा शीर्ष नेतृत्वदेखि पार्टी संस्थापक रोहाना विजेविरा मारिएका थिए । विद्यार्थी जीवनदेखि नै जेभिपीको राजनीतिमा जोडिएका दिसानायके सन् २०१४ मा पार्टी नेता नियुक्त भएका थिए ।

नेतृत्व सम्हालेदेखि नै उनले पार्टीको छविलाई विगतको हिंसात्मक अवस्थाबाट बाहिर ल्याउने प्रयास गरे । पछिल्लो संसदीय निर्वाचनमा जेभिपी गठबन्धनले तीन सिट ल्याएको थियो । अहिले राष्ट्रपति बनेपछि दक्षिण एसियाबाट पहिलो बधाई नै भारतीय प्रधानमन्त्री मोदीले दिए । नेपालबाट माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बधाई दिएका छन् । उनले मार्क्सवादी नेता चयन गरेकोमा श्रीलंकाली जनतालाई पनि धन्यवाद भनेका छन् । प्रचण्डले लेखेका छन्, ‘भ्रष्टाचार,आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा माक्सर्ववादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई मत सलाम गर्छु । अब दिसानायकेसामु देशको अर्थव्यवस्थालाई लिकमा ल्याइ लाखौँ नागरिकलाई गरिबीको रेखाबाट बाहिर निकाल्नुपर्नेलगायत चुनौती छन् ।