Breaking

दुर्गा थुनिएपछि समर्थक उग्र, भारतीय ट्रक जलाइयो, ओलीविरुद्ध आन्दोलन छेड्ने चेतावनी


आईतबार आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाई माग गर्दै सोमबार देशका विभित्र स्थानमा प्रदर्शन भएको छ । उनका समर्थकहरूले झापादेखि काठमाडौंसम्मै प्रर्दशन गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेसँगै उनका समर्थकहरू आक्रामक देखिएका छन् । प्रहरीले आईतबार भक्तपुरस्थित निवसबाटै प्रसाईंलाई पक्राउ गरेको थियो । सोमबार उनको समर्थनमा समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रसाईंका समर्थकहरूले झापामा सवारीसाधन जलाएका छन् । प्रसाईंको पक्राउपछि आक्रोशित बनेका समर्थकहरूले झापाको छुट्टा–छुट्टै स्थानमा तीन वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेका हुन् ।

प्रसाईविरुद्ध चरित्रहत्या गर्ने गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर जाहेरी परेको थियो । त्यसैलाई आधार मानेर प्रहरीको साईबर ब्युरोको टोली पक्राउ गरेको थियो । एक साताअघि परेको उजुरीपछि उनलाई पक्राउ गर्न प्रहरीले असोज २ गते नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको भए पनि त्यसको तीन दिनपछि मात्रै उनलाई हिरासतमा लिएको हो ।

पक्राउपछि स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सककै सल्लाहमा प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको थियो । अहिले भने प्रहरीको साइबर ब्युरोले अस्पतालबाट लगेर प्रसाईंको बयान लिन सुरु गरेको छ । हिरासतमा लिईसकेपछि प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

प्रदर्शनमा प्रहरीले धरपकडठ गरेको छ भने कैयौं समर्थक पक्राउ परेका छन् । प्रसाईंकै नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनाली, नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची संयोजक दुरेन राई पनि हिरासतमा पुगेका छन् ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसुर अनुसार उजुरी पपरेकाले प्रसाईमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत नै प्रारम्भिक अनुसन्धान थालिएको छ । दफामा विद्युतीय रूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । जस अनुसार प्रसाईंको हकमा पनि यही दफा लागू हुने देखिन्छ । तर प्रसाईंविरुद्ध मुद्दा चलाउने वा नचलाउने निर्णय अनुसन्धानपछि मात्रै तय हुने छ ।

एमाले र माओवादी मिलेर बनेको तत्कालिन नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएरपछि प्रसाईं एकाएक चर्चामा आएका थिए । नेकपा फुटेपछि प्रसाईं एमालेका केन्द्रीय सदस्यसमेत बने । पार्टीको केन्द्रीय सदस्य हुँदा नै देशमा पुनः राजतन्त्र फर्काउने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि एमालेले दलबाट निष्कासन गरेको थियो ।

त्यसपछि विशेष गरेर ओली–प्रचण्डसँगको सम्बन्धमा दरार आएपछि दुर्गा प्रसाईं नेताका लागि टाउको दुखाई बन्दै आएका छन् । अहिले फरक मुद्दा भए पनि राजनीतिक रुपमा एमालेलाई सक्रियता मिलेको देखिन्छ । भने रास्वपा सभापति रवि लामिछानेविरुद्धको पक्राउतिर ध्यान भड्काउँदै दुर्गा तह लगाउने बाटोमा सरकार अघि बढेको विश्लेषण हुन थालेको छ ।