समाचार

पत्रकार महासंघको निर्वाचन: सर्वोच्चको कारण देखाउ आदेश


काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएकोमा कारण देखाउ आदेश जारी भए पनि अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।

रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग पनि गरिएको थियो । महासंघको वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निर्वाचन गराएर महासंघलाई निकास दिन रिट निवेदनमा माग गरिएको छ ।

नेपाल पत्रकार महासंघको विधानअनुसार महासंघको कार्यसमितिको कार्यकाल ३ वर्ष पूरा भएपछि पुनः नयाँ कार्यसमिति निर्वाचित भएर आउनुपर्नेमा अहिलेको कार्यसमितिको कार्यकाल पूरा भएको ६ महिना पुग्न लाग्दा पनि महासंघले निर्वाचन गर्न सकेको छैन् ।

महासंघले पाँचौं पटकसम्म निर्वाचनको मिति तय गरेको भए पनि अहिलेसम्म निर्वाचन गर्न सकेको छैन ।