समाचार

सुनुवाइ समितिको वैठक स्थगित, श्रीलंकाका प्रस्तावित राजदूतबारे निर्णय भएन


काठमाडौं । संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ ।

श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।

यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रश्तावित राजदुतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रश्तावित राजदुत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । यसअघि हिजोको लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

नाम स्वीकृत–अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ । आज बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् ।

यसअघिको बैठकमा समितिले श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए । यस्तै समितिको आज बसेको बैठकले निर्णय लिन नसकेपछि भोली ९ बजेका लागि पुनः बैठक बोलाइएको छ ।।