Breaking

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले लिए शपथ


काठमाडौँ – श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित मार्क्सवादी नेता अनुरा कुमार दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

५५ वर्षीय दिसानायकेले शनिबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी विपक्षी नेता सजिथ प्रेमदासा, निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेलगायत ३६ उमेदवारलाई पराजित गरेका थिए ।
दिसानायकेले ५७ लाख ४० हजार १७९ मत प्राप्त गरे । प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाए ।

सन् १९७८ को नयाँ संविधानपछि शक्तिशाली कार्यकारी बनेको राष्ट्रपति पद सम्हाल्ने उनी नवौँ व्यक्ति हुन् । दिसानायकेले २०१९ को निर्वाचनमा करिब तीन प्रतिशत मात्र मत पाएका थिए ।

सन् २०१९ देखि आर्थिक संकटमा धकेलिएको श्रीलंकामा २०२२ मा गोटाबाया राजपाक्षे देश छोडेर भागेपछि रनिल नयाँ राष्ट्रपति बनेका थिए । देश संकटको अवस्थाबाट गुज्रिरहेका बेला नयाँ राष्ट्रपतिमा निर्वाचित दिसानायकेबाट नागरिकले महत्त्वपूर्ण अपेक्षा राखेको देखिएको छ ।

दिसानायकेको गठबन्धनको नेतृत्व उनको पार्टी जनता विमुक्ति पेरामुना वा पिपुल्स लिबरेसन फ्रन्टले गरेको छ । सन् १९८० को दशक र १९९४ मा यो पार्टीले समाजवादी क्रान्ति गरेको थियो ।

सन् २००० मा दिसानायके पहिलोपटक सांसद बनेका थिए । २०१९ मा उनी पहिलोपल्ट राष्ट्रपतिको उमेदवार बनेका थिए । त्यति बेला उनी राजपाक्षेसँग पराजित भएका थिए ।