Breaking

परराष्ट्रमन्त्री राणाले भेटिन् इन्डोनेसिया, बुरूण्डी र फिनल्याण्डका विदेशमन्त्री


काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन्।

मन्त्री राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गरेकी छिन्।सो भेटमा नेपाल र इन्डोनेसियाबीचका द्धिपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कमगर्न आपसमा हुनसक्ने सहयोग र सहकार्यजस्ता विषयमा कुराकानी भएको थियो।

यसैगरी उनीहरूबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो। त्यस अवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकहरुका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो।

सो सम्झौतापत्रमा नेपालका तर्फबाट मन्त्री राणा र इन्डोनेशियाका तर्फबाट विदेशमन्त्री मर्सुदीले हस्ताक्षर गरेका छन्।

मन्त्री राणाले उक्त सम्झौताले इन्डोनेशियासँगको आपसी सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन।त्यसैगरी मन्त्री राणाले आइतबर नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र बुरुन्डी जलवायु परिवर्तनका कारण बढी प्रभावित दुई भूपरिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि मन्त्री डा राणाले कुराकानी गरेकी थिइन।

त्यस्तै आइतबार परराष्ट्रमन्त्री राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो।

भेटमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी थिइन।