Breaking

खानेपानी समितिमा बागी उठेको भन्दै एमालेले पार्टीबाटै निकाल्यो


काठमाडौँ – झापा कमल गाउँपालिकाको लखनपुर सामुदायिक खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बागी उम्मेदवारी दिएको भन्दै नेकपा एमालेले उषा भण्डारीलाई कारबाही गरेको छ । एमालेले उषा भण्डारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

भण्डारीले यसअघि खानेपानी समितिकी निर्वाचित अध्यक्षका रुपमा दुई कार्यकाल चलाइसकेकी थिइन् ।

‘पार्टीको निर्णय बर्खिलाप हुने गरी पार्टी सदस्य कमरेड उषा भण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको र सो उम्मेदवारी फिर्ता लिन कमिटीले गरेको निर्देशनलाई अवज्ञा गरेको हुँदा पार्टी विधानबमोजिम आजैका मितिदेखि लागू हुने गरी निज उषा भण्डारीलाई पार्टी सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरिएको व्यहोरा सम्पूर्णमा अवगत गराउँदछौं’, नेपाल एमाले कमल गाउँपालिका कमिटीले भदौ २३ मा निकालेको विज्ञप्तिमा भनिएको छ ।