अन्तर्राष्ट्रिय

अमेरिकामा मोदी–बाइडेन भेटको तरंग, सी र पुटिन शसंकित


अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन गर्न न्यूयोर्क पुगेका मोदीलाइृ स्वागत गर्दै वाइडेनले अमेरिका र भारत अहिले सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन् ।


अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत पाएका छन् । राष्ट्रपति जो वाइडेनले अमेरिका र भारत इतिहासमा अहिले सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन् । मोदीलाई आजभन्दा करिब १९ वर्षअघि संयुक्त राज्य अमेरिकाले कूटनीतिक भिसा दिन अस्वीकार गरेको थियो । सन् २००५ मा गुजरातको मुख्यमन्त्री हुँदा मोदीलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको थियो । धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको आरोपमा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनले मोदीलाई भिसा दिएको थिएन ।

मोदीमाथिको प्रतिबन्ध करिब एक दशकसम्म चल्यो । कुनै बेला मोदीलाई यसरी भिषा दिन अस्विकार गरेको अमेरिका अहिले उनी मोदीको भव्य स्वागत गर्न विवसश बनेको हो । हुन त भ्रमणका क्रममा हुने शिष्टाचार भेटलाई सामान्य मान्न सकिए पनि उदाउँदो शक्तिराष्ट्र भारतको कुटनीति अझ जोडदार बन्दै जाँदा उसको प्रभाव पनि बढ्दै गएको रुपमा बुझ्न सकिन्छ । भारतले विश्व मञ्चमा सक्रिय हुने समय आएको बताउन थालेको छ । त्यसको कारण पनि छ । यतिबेला विश्वको राम्रो अर्थतन्त्र रहेका केही मुलुकमा भारत पर्छ ।


भू–राजनीति पनि यतिबेला भारतको पक्षमा छ । धेरैजसो मुलुकहरु चीनको विकल्पमा एउटा वैकल्पिक उत्पादन हब तयार होस् भन्ने चाहन्छन् । त्यसमाथि भारत पनि एउटा ठूलो बजार हो, जहाँको मध्यम वर्ग बढ्दैछ । त्यसैले थुप्रै मुलुक तथा बहुराष्ट्रिय कम्पनीहरुका लागि उनीहरुको चीन प्लस वान नीतिमा भारत राम्रो विकल्प बनेको छ । रुस–युक्रेन युद्धमा पनि अमेरिका र भारतको फर धार देखिन्छ । दिल्लीले अहिलेसम्म रुसको सिधा आलोचना गरेको छैन । किनभने भारत हतियारमा अझै पनि रुससँग निर्भर छ ।

भारत करिब ५० प्रतिशत रक्षा सामग्री मस्कोबाट लिन्छ । तर, कारण योमात्र होइन । भारतले सधैं आफ्नो असंलग्न नीतिप्रति गौरव गर्दै आएको छ । जसलाई आजभोलि रणनीतिक स्वायत्तता पनि भन्न थालिएको छ । विश्व व्यवस्थामा भारत कुनै एक शक्ति केन्द्रमा सीमित हुन चाहँदैन । त्यसैले युक्रेन युद्धको सुरुवाती महिनामा अमेरिकी कूटनीतिज्ञहरु भारतप्रति क्रुद्ध देखिन्थे ।


तर, पछिल्ला महिनाहरुमा अमेरिकाले आफ्नो अडान नरम पारेको छ । रुसबाट कच्चा तेल किन्ने कार्यलाई भारतले निरन्तरता दिँदा पनि अमेरिकाले अन्देखा गरिरहेको छ । भारतले पनि एक कदम अघि बढेर सार्वजनिक रुपमा युद्ध अन्त्यको आग्रह गरिरहेको छ । पछिल्लो समय मोदी र बाइडेनको भेटले फेरी तरंग ल्याएको छ । सामाजिक सञ्जालमा बाइडेनले मोदीलाई स्वागत गरेको तस्विर सार्वजनिक गर्दै मोदीसँगको हरेक भेट फरक हुने गरेको र हरेक मुद्दामा सहकार्य गर्न तयार हुने बताएका छन् । मोदीले पनि बाइडेनलाई निम्तोको लागि धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले भेटको अवसरमा क्षेत्रीय र विश्व मुद्दामा छलफल ग¥यौं ।’


यसरी अमेरिकाले भारतलाई उच्च सम्मान दिनुमा पनि रणनीतिक स्वार्थ लुकेको विश्लेषण छ । यद्यपी भारत रणनीतिक मामिलामा निर्णय गर्न स्वतन्त्र छ भनेर देखाउन खोजिरहेको छ ।