देश

सरकार व्यवस्थित शहर बनाउने दिशामा छ : कार्यवाहक प्रधानमन्त्री सिंह


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताएकाछन् ।

आज सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरु पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए । शहर व्यवस्थापनमा भएका समस्याहरु पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको बताए ।

शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने उनको भनाइ छ । सरकार र निजी क्षेत्रहरु सबै मिलेर अहिलेको व्यवस्थित, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेको बताए ।

भेटपछि नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने माग गरे ।