Breaking

बालेनसँग भिड्नेलाई ओलीको पुरस्कार, ‘बा’ ब्राण्ड ठिक


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको ‘साइवर वार’ अब समर्थकबीचमा सरेको छ । दुई जननिर्वाचित प्रतिनिधिबीच सहअस्तित्वको लडाई हुँदा त्यसको परिणाम समर्थकहरूले झेल्नुपरेको छ ।

एकै दिनका यी दुई फरक । दुबै जननिर्वाचित प्रतिनिधि हुन् । एकले केन्द्र सरकारको नेतृत्व गरिरहेको छ भने, अर्काेले स्थानीय तहको । देशकै बागडोर सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुर्दावादको नारा लाग्दा उनीमाथि जनताको आक्रोश पोखिएको छ । अर्कोतर्फ आर्थिक हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिकाका प्रमुख बालेननागरिककै बीचमा जात्रा मनाईरहेका छन् । ओलीप्रति नागरिकको असन्तुष्टि र बालेनको बढ्दो लोकप्रियता नै अहिले एमाले र बालेनको टकरावको मुख्य कारक बनेको छ ।

जुन प्रत्येक दिन हुने सार्वजनिक कार्यक्रममा विस्फोट हुन थालेको छ । बिहीबार संविधान दिवसको अवसरमा नेसनल डे कन्सर्टमा बालेनको समर्थन गर्दै ओलीविरुद्ध नाराबाजी हुँदा मङ्गलबार पनि इन्द्रजात्रामा सरकार भर्सेस बालेन समर्थक दृश्य देखियो । बालेनको टिसर्ट लगाएर जात्रामा उपस्थित भएकाहरूलाई बिथोल्न आएको आरोप लगाउँदै प्रहरीले बालेनको टिसर्ट लगाएकै कारण १४ जनालाई नियन्त्रणमा लिएको थियो । त्यस्तै नेसनल डे कन्सर्टमा नै पनि ओली र बालेन समर्थकको मुठभेड नै हुन पुग्यो ।

अझ प्रधानमन्त्री ओलीविरुद्ध नारा र बालेनको जयजयकार गर्दा चार जनालाई हिरासतमा लिएको थियो । जसमध्ये तीन जनालाई शुक्रबार मुक्त गर्दा बझाङ घर भएका हाल माछा पोखरी बस्ने तिलक खड्कालाई भने ज्यान मार्ने मुद्दाको अभियोगमा आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने भएको छ ।

त्रिचन्द्र कलेजमा बीएससी पहिलो वर्षमा अध्ययनरत खड्कामाथि चार महिना अघि क्याम्पसमा विवाद हुँदा इँटा प्रहार गरि विद्यार्थीलाई घाइते बनाएपछि उनीविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको प्रहरीले जनाएको छ । तर, सरकारले सामाजिक सञ्जालमा लेखेको, अभिव्यक्ति दिएकै भरमा पक्राउ गर्ने र नागरिकको समर्थन प्राप्त गरेकै माथि झम्टिने सरकारको शैली हारको मानसिकता रहेको विश्लेषकको बुझाई छ ।

देशकै तीन नम्बर वरियताको प्रधानमन्त्री ओली र १० औं वरियताको महानगर प्रमुख बालेनबीचको टसलमा नागरिक परिरहेका छन् । यसमा नेताहरूले नै जिम्मेवारी भूमिका खेल्नु पर्ने भए पनि उनीहरूबाटै सामाजिक सञ्जालबाट एक अर्कालाई तल देखाउँदै नागरिकलाई हौसाउने काम भईरहेको छ । स्थानीय सरकारको क्षेत्राधिकार अनुसारका काममा बालेनको क्रेज बढ्दा झस्किएका ओलीले अनावश्यक हस्तक्षेप गर्न नहुने जानकारहरू बताउँदै आएका छन् ।

न्यूरोडकै फुटपाथमा वडाध्यक्षलाई उक्साएका ओलीले नदी–नालाको २० मिटर जग्गामा पनि उपप्रमुखदेखि जिल्ला नेतृत्वलाई नै बालेन विरुद्ध खडा गरिदिए । ओली बालेन भिडन्तको सवालमा बरु वडाध्यक्ष वा जिल्ला तहकै नेताहरुलाई उतारे पनि प्रधानमन्त्री नै प्रत्यक्ष भिड्न आवश्यक नरहेको जानकारहरुको तर्क छ ।

चौतर्फी आलोचना हुँदा ओली–बालेन भिड्न छाड्दैनन् । सुकुम्वासी बस्तीदेखि, गिरीबन्धु जग्गा प्रकरण, अवैध संरचना भत्काउने तथा खोला किनारको मापदण्डदेखि वालश्रमसम्मकै बिषयमा उनीहरु प्रत्यक्ष रुपमा र समर्थकहरु पनि भिडेको देखिन्छ । दई सरकारका प्रमुखबीच सहअस्तित्व र समन्वयको अभाव समर्थकहरुको भीड अराजकतातर्फ जाँदैछ । यो अनावश्यक जुँगाको लडाइँ छाडेर आफ्ना प्राथमिकतामा ध्यान दिनु दुबैका लागि हीतकर देखिन्छ ।