खेलकुद

एनपीएलको अक्सनका लागि खेलाडीको नाम दर्ता खुल्यो


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनका लागि खेलाडीको नाम दर्ता खुलाएको छ ।

क्यानले शनिबार एक विज्ञप्ती जारी गर्दै एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिने र खेलाडीले कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । नाम दर्ताका लागि असोज १२ गतेसम्मको समयसीमा क्यानले तोकेको छ। त्यस्तै दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।


दसैंअघि नै खेलाडीको अक्सन हुने बताइएको छ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुत्न क्यानका प्रबक्ता छुम्बी लामा बताउँछन् ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिनेछ ।

खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ ।