Breaking

जम्बो टोली बोकेर अमेरिकामा ओली, नेपालले के मुद्दा उठाउँदैछ ?


प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । असोज १० गते महासभालाई सम्बोधन गर्ने तालिका रहे पनि प्रधानमन्त्री ओली शुक्रवार नै अमेरिका उडेका हुन् । महासभामा विभिन्न शत्रमा हुने सम्बोधन, दुईपक्षीय शिष्टचार भेट र साइडलाइन वैठकका कारण प्रधानमन्त्री ओलीको अमेरिका यात्रालाई चासोका रुपमा हेरिएको छ ।.

अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उडेका छन् । विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू र नेकपा एमालेका नेताहरूले विदाई गरेका थिए । नेपाली सेनाको एक टुकडीले विशेष सम्मान पनि दिएको थियो ।

क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा उतैबाट न्युयोर्क जाँदै छिन् । १७ सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंह, स्वकीय सचिव राजेश बज्राचार्य, एडीसी दिवाकर खड्का सहित उच्च अधिकारीहरु अटाएका छन् ।

असोज १० गते महासभालाई सम्बोधन गर्ने तालिका रहे पनि प्रधानमन्त्री ओली शुक्रवार नै अमेरिका उडेका हुन् । अन्तराष्ट्रिय चासोका विभिन्न विषयहरुमा छलफल हुने सभालाई हरेक साना तथा ठुला राष्ट्रहरुले प्रथामिकतामा राख्ने गर्दछ । अमेरिका जानु अघि प्रधानमन्त्री ओलीले देशको शिर निहुरिनेगरी कुनैपनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यो बर्ष शान्ति प्रक्रियालाई पूर्णता दिने मामिलामा टिआरसीलाई टुङगोमा लगाएका ओलीसँग महासभामा देखाउने गर्विलो एजेण्डा बनेको छ । यसबाहेक जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, पर्यटन क्षेत्रको विकास, शरणार्थी समस्यामा लगायत विषयलाई प्राथमिकताका दिँदै आएको नेपालले यो पटक के कस्ता विषयहरु उठान गर्दैछ स्पष्ट ढंगले सतहमा आएको छैन । तथापी नेपालले मुलुकको संविधान लोकतन्त्र मुलुकको राष्ट्रहित लगायतका विषयलाई केन्द्रमा राखेर नेपालका प्राथमिकताहरुवारे स्पष्ट पार्ने प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराएको थिए ।

प्रधानमन्त्री ओलीले शनिवार नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसँग भेटवार्ता गर्नेछन् । शनिवारै न्युयोर्कमा विभिन्न मुलुकका सांसदहरुलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फ्यूचर’ मा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ६ गते ‘समिट अफ द फ्युचर’ मा सम्बोधन गर्ने र साइडलाइन वैठकको कार्यक्रम छ । असोज ७ गते प्रजातन्त्र र आर्थिक समृद्धि नेपालको यात्रा विषयमा कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । असोज ८ गते ‘एन्टिमाइक्रोबियल रेसिस्सटेन्स’ असोज ९ गते उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यतालिका छ ।

असोज १० गते महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने र असोज ११ गते हार्वड विश्वविद्यालयमा संक्रमणकालिन न्याय जलवायु न्याय नेपालको दृष्टिकोणवारे सम्बोधन गर्दै १४ असोजमा नेपाल आइपुग्नेछ । यो अवधिमा प्रधानमन्त्री ओली विभिन्न सम्बोधन, उच्चस्तरीय भेटवार्ता र नेपाली समुदायसँग अन्तरक्रियामा व्यस्त हुनेछन् । महासचिव गुटेरेसँगदेखि भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग साइडलाइनमा भेटवार्ता लगभग पक्का भनिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता अनिश्चित छ । मोदी ६ र ७ गते मात्र न्यूयोर्कमा हुनेछन् । नेपालले असोज ६ गते मोदीसँग भेट्न प्रस्ताव गरे पनि भारतको प्रतिक्रियाबारे कुनै सार्वजनिक जानकारी आएको छैन । भारतसँग निकट परराष्ट्रमन्त्री आरजु राणालाई नै अघि सार्दै ओली मोदी भेट्ने प्रयासमा छन् । भारतको बेवास्तामा पर्दै आएका ओलीलाई मोदीले देलान् ? चासोपूर्ण रुपमा हेरिएको छ । भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीस्तरीय कुटनीतिक भेट गर्दै धेरैलाई चकित बनाएकी आरजुका लागि पनि मोदी–ओली भेट अग्नि परीक्षा हुनेछ ।

दक्षिण एसियाली मुलुकहरुको संयुतm आवज र क्षेत्रिय राजनीतिक प्रभावका लागि सार्क राष्ट्रहरुको साइडलाईन वैठक महत्वपूर्ण मानिन्छ । यो बर्ष पनि सार्कको साइडलाईन बैठक नहुने पक्का हुँदा सम्बन्धित मुलुकहरुको क्षेत्रिय प्राथमिकतामा यसपटक छलफल हुन पाउने छैन । अर्कोतर्फ क्षेत्रीय संगठन, बहुपक्षीय फोरमहरु राष्ट्रसंघ भन्दा बढी सक्रिय बन्दा राष्ट्रसंघ आफैँ चुनौतिमा छ । अझ राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य देश मिल्न नसक्नुले राष्ट्रसंघ कमजोर बन्दै गएको विश्लेषण भईरहेको छ ।