Breaking

सहकारी काण्ड : यसरी फस्दै रवि ! प्रतिवेदनमा राजनीतिक सौदाबाजीको आशंका


ससदीय छानविन समितिले प्रतिवेदन बुझाएसँगै चर्चामा रहेको सहकारी र रविको चर्चा परिचर्चा अझै सेलाएको छैन् । बरु प्रतिवेदनको पूर्णपाठ सार्वजनिक हुँदा बयान दिएका अधिकांशले रवि यो काण्डको केन्द्रीय व्यक्ति भएको किटान गरेको प्रष्ट भएको छ । फलत ः उनी कसरी निर्दोष सावित भए भन्ने प्रश्न बलियो बन्दा राजनीतिक सौदावाजीको शंका शुरु भएको हो ।

सहकारी ठगी प्रकरणमा क्लिन चिट पाएको भन्दै रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टिका नेता कार्यकर्ता एक स्वर सुनिदाँ नयाँ वहस शुरु भएको छ । सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिमा अधिकांशले उनीविरुद्ध बयान दिएको प्रष्ट हुदाँ रास्वपाका नेताहरु विषय डाईभर्ट गर्न लागि परेको आशंका जन्मिएको हो । शुक्रबार सार्वजनिक भएको प्रतिवेदनको पूर्णपाठमा उल्लेख भएका भविश्वर अर्यालले जीबी राई, रवि लामिछाने र दिपेश पुनबीच भएको बैठकमा आफू पनि सहभागी भएको बयान दिएका छन् ।

सहकारी ठगी मुद्दामा कास्की कारागारमा रहेका उनले गोरखा मिडियामा सहकारीको रकम आएको र रवि लामिछानेको नाममा पनि आएको स्वीकार गरेका छन् । यता रवि भने आफूले कुनै कारोबारमा संलग्न नभएको तथा आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको जिकिर गर्दै आएका छन् । अहिले एक टेलिभिजनमा समितिका सभापति सूर्य थापाले सहकारीको विषयमा उनी दोषी नदेखिएको भन्दै दिएको अन्तरवार्ता बजाएर उनले क्लिन चिट पाएको उनका समर्थकले प्रचार गर्दै आएका छन् ।

तर रविले गोर्खा मिडियामा करिब एक वर्ष प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीको १७ करोड ३१ लाख रुपैयाँ भित्र्याइएको खुलेको छ । उक्त कुरा उनकै बयानबाट पुष्टि भएको हो । तर प्रबन्ध निर्देशक रहेका उनैले त्यो रकम जीबीले कसरी ल्याए भन्ने थाहा नभएको पनि बताएका छन् ।त्यस्तैसमितिले गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा रवि लामिछानेले राजस्व समेत छली गरेको निष्कर्ष निकाल्दा उनले क्लिन चिट पाएको भनेर खुसी हुनुमै प्रश्न देखिएको हो ।

समितिको प्रतिवेदनले सहकारीबाट गोरखा मिडियामा पैसा आएको र सो पैसा खर्च गर्ने विषयमा रवि सँलग्न भएको प्रष्ट पारेको छ । अर्थात प्रतिवेदनको भाषामा सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा रवी लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उनको सहभागिता देखिन्छ ।

सूर्य थापाका अनुसार जुन पैसा रवि लामिछानेको नाममा ऋण खडा गरेर प्रवाह भएको त्यो रकम सुर्यदर्शन, सुप्रिम सहकारी लगायतका सहकारीबाट त्यो पैसा फेरि विभिन्न शंकास्पद बाटो हुदैँ रोशनी गुरुङ अथवा गुञ्जना ज्ञवाली वा अरु कोही हुँदै गोर्खा मिडिया नेटवर्कमै जम्मा हुन आएको छ। रवि लामिछानेको व्यक्तिगत अकाउन्टमा भने गएको छैन । यहि कारण उनी त्यसमा प्रत्यक्ष सँलग्न नदेखिएपनि उनी मालिक रहेको संस्थामा पुगेको देखिदाँ ग्यालेक्सी टिभी सहकारीमा भएको पैसा घुमाउरो पाराले प्रयोग गर्ने अश्त्र मात्र बनेको प्रष्ट छ ।

रोचक त के छ भने यतिका प्रमाण हुदाँ समेत रविमाथि दोषी भन्दा जिम्मेवार भन्ने शब्द प्रयोग गरिएको छ । यसैलाई उनी समर्थकले आफ्नो हितमा प्रयोग गरेका छन् भने सहकारीबाट पैसा नआएको भन्ने शब्दलाई प्रयोग गरेर गोरखा मिडियामार्फत सहकारीको करौडाँै रुपमा अपचलन भएको वास्तविकतालाई विषयान्तर गरिरहेको छन् । अर्कातर्फ सर्वसहमती बनाउन रास्वपकै आग्रहमा नरम शब्द प्रयोग गरिएको समितिका सदस्यहरुको भनाई छ भने यसैका लागि प्रतिवेदन बुझाउन अघि समितिको बैठक नै लम्बिएको थियो । फलत ः प्रमाण र तत्थ प्रयाप्त हुँदा समेत शब्दमा खेल्न सक्ने गरि समिति अघि बढननुमा समेत अहिले राजनीतिक सौदाबजीको गन्ध आउन थालेको हो ।

हुन त समितिले नै दोषी निर्दोष छुट्याउने हैन । यसको अनुसन्धान र मुद्धा अभियोजनको पाटो नेपाल प्रहरीको हो । यसको अर्थ अहिले जति नै माथापच्चीसी गरेपनि रविको प्रयास तत्कालिन राजनीतिक डयामेज कन्ट्रोल गर्ने प्रयास मात्र हो । जसको वास्तविकता समेत पूर्ण प्रतिवेदन सार्वजनिक भएपछि विस्तारै खुलासा हुँदा यो विषयमा भईरहेको राजनीति समेत बाहिर आएको छ । यसको अर्थ रवि लामिछानेको अहिलेको प्रयास क्षणिक न्यानोमा रमाउने प्रयास मात्र भएकोमा दुईमत छैन् ।