अन्तर्राष्ट्रिय

हमास युद्धमा हिजबुल्लाहको प्रवेश, युद्ध थप चर्कदै


काठमाडौँ – मध्यपुर्वको तनावले यतिबेला नयाँ मोड लिएको छ । लेबनानमा हिजबुल्लाह समुहको कयौँ पेजर विस्फोट भएपछि युद्ध थप चर्किने संकेत बढेको हो । जुन संकत स्वयं इजरायलले पनि गरिसकेको छ ।

विगत एक वर्षदेखि जारी इजरायल हमास युद्धमा आतंकवादी समूह हिजबुल्लाहको प्रवेशले युद्ध थप चर्किने देखिएको छ । हिज्बुल्लाह समूहले एक अर्कामा सञ्चार गर्न प्रयोग गर्ने पेजर उपकरण धमाधम विष्फोट हुन थालेपछि अवस्था थप तनावपूर्ण बनेको हो । मंगलवार लेबननभरी पेजर विस्फोट हुँदा चर्किएको युद्धमा हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । पछिल्लो विस्फोटमा मात्रै ४५० भन्दा बढी घाइते भएका छन् ।

यो आक्रमणबारे मौन रहेको इजरायली डिफेन्स फोर्सले ुद्धको “नयाँ चरण“ सुरु भएको घोषणा गरेपछि घटनाले नयाँ मोड लिएको हो । मोबाइल फोन प्रयोगमा आउनुअघि सन्देश पठाउन पेजरको प्रयोग हुन्थ्यो । तारविहीन यस उपकरणमार्फत लिखित वा अडियो म्यासेज पठाउन सकिन्छ ।

हिजबुल्लाहले लोकेसन ट्र्याक नहोस् भनेर यस्ता पेजर प्रयोग गर्ने गर्छ । इजरायलले सन् १९९६ मा हमास समूहका बम निर्मातालाई मोबाइल ह्याक गरेर हत्या गरेको थियो । यस घटनापछि हिजबुल्लाहले पेजर प्रयोग गर्न थालेको थियो । केही जानकारहरू पेजर ह्याक गरेर पड्किएको हुन सक्ने बताइरहेका छन् । कतिपयले त पेजरको ब्याट्री तातेर विस्फोट भएको आशंका पनि गरिरहेकाछन् । तर, यस अगाडि पेजरको ब्याट्री पड्किएको वा पेजर ह्याक भएका घटना सार्वजनिक भएका थिएनन् ।

तीव्र अमेरिकी कूटनीतिक प्रयासका बाबजुद पनि वासिङटनले समेत स्थितिलाई चर्किन नदिन पर्याप्त काम गर्न सकेको छैन । यता लेबनानका नागरिक उड्डयन महानिर्देशकले कुनै पनि विमानमा यात्रुहरूलाई पेजर र वाकी–टकीहरू बोक्न प्रतिबन्ध लगाउने नयाँ निर्देशन जारी गरेका छन् । पेजर र वाकी–टकीहरूमा आक्रमण हुन थाले पछि प्रतिबन्ध लगाइएको हो । १७ सेप्टेम्बरको दिउँसो करिब पौने ४ बजे लेबनानका धेरै सहरमा हजारौँ पेजर वाकी–टकीहरू पड्किएका थिए ।

यता हिजबुल्लाहले पनि उत्तरी इजरायलमा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाको रेडियोले इजरायलको उत्तरी ग्यालिली क्षेत्रमा हिजबुल्लाहले गरेको मिसाइल आक्रमणमा कम्तीमा आठ जना घाइते भएको जानकारी दिएको छ । यो आक्रमणले पनि इजरायल र लेबनानबीच युद्ध बढ्ने खतरा झनै बढाएको छ ।

हिजबुल्लाह लामो समयदेखि इजरायलका लागि एक तगारो बनेको छ । सन् १९८० को सुरुवातदेखि इजरायलले बारम्बार हिजबुल्लाहलाई कमजोर वा निमिट्यान्न गर्ने प्रयास गरे पनि असफल हुँदै आएको छ । इजरायलले सन् २००६ मा सैन्य कारबाहीसमेत गरेको थियो, तर असफल रह्यो । ह्मास समूहलाई ससमाप्त पारे मात्रै विश्राम लिने सोचमा रहेको इजरायल हिजबुल्लाहलाई के गर्ला त्यो भने भन्न सक्ने कुनै अबस्था छैन ।