Uncategorized

प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने बाटोमा छौं : मुख्यमन्त्री आचार्य


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलहरुमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताए ।

उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको दावी गर्दै दिर्घकालीन लक्ष्य निर्धारण गरेर योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको बताए । ‘आर्थिक सुचकका हिसाबले कुल ग्राहस्थ उत्पादन बढेर गएको छ,प्रतिव्यक्ति आय, बहुआयमिक गरिबीको दर, बालमुत्युदर, मातृमृत्युदर घटेको छ’, मुख्यमन्त्रीले भने, ‘शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पुर्‍याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’

साझा अधिकार सूचीका कानुनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए । कानुनहरू संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।